हेटौँडाः हेटौँडामा जारी छैठौँ संस्करणको मकवानपुर गोेल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरलाई हराउँदै बागमती युथ क्लब सर्लाही सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरिटार रंगशालामा भएको खेलमा घरेलु टोली मकवानपुरलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै बागमती युथ सेमीफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरको सहायता लिनु परेको थियो । बागमतीका लागि पहिलो हाफको ४४ औँ मिनेटमा अभि लामाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । “ए” डिभिजन क्लब र राष्ट्रिय टिमका खेलाडी सहभागी घरेलु टोलीले बागमतीलाई सहज मानेर खेल्दै गर्दा खेलमा सुरुवाती अग्रता भने बागमतीले बनाउन सफल भयो । पहिलो हाफ १–० को अग्रता बनाएको बागमतीले दोस्रो हाफको सुरुवातमा केही दबाब व्यहोर्नु पर्यो । पहिलो हाफ १ गोलले पछि परेको घरेलु टोली मकवानपुरका लागि दोस्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल सम्भव भयो । मकवानपुरका लागि विदेशी खेलाडी स्टेफन समीरले गोल गरे ।
दोस्रो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा ८० औं मिनेटमा बागमतीका सब्स्टिच्युट खेलाडी अनिल राना मगरले गोल गर्दै बागमतीलाई दोस्रो पटक अग्रता दिलाए । २–१ गोलअन्तरले पछि परेको स्थितिमा घरेलु टोलीका लागि ८९ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समीरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो ।
टाइब्रेकरमा बागमतीका अभिषेक महतो, आयुष रानामगर निर्मल बल र अनिल राना मगरको प्रहार गोल हुँदा मकवानपुरका अमित तामाङको प्रहार पोल नजिकैबाट बाहिरियो भने सुरज ज्यू ठकुरीको प्रहार बागमतीका गोलरक्षक रौनक चौलागाईले रोके । मकवानपुरका लागि स्टेफन समीरर अञ्जन विष्टको प्रहार गोलमा परिणत भए पनि हार टार्न सकेन । म्यान अफ द म्याच बागमतीका गोलरक्षक रौनक चौलागाईं घोषित भए । चौलागाईले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । आज सोमबार त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटा बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३५० सिसीको बुलेट बाइक प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुनेछ ।