हेटौंडाः निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहले मुलुकमा समृद्धिको सम्बाहक निर्माण व्यवसायी भएको बताउनुभएको छ । शनिबार निर्माण व्यवसायी संघ मकवानपुरको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुलुकमा पूर्वाधार विकास गर्न निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुहुँदै उहाँले समृद्धि बनाउने काम निर्माण क्षेत्रबाट पनि हुने बताउनुभयो । उहाँले अहिले निर्माण व्यवसायीमा धेरे समस्या रहेको बताउनुहुँदै संघले निर्माण उद्योगलाई कसरी अगाडि बढाउने, पूर्वाधारको विकास कसरी गराउने र सरकारसँग पूर्वाधारमैत्री ऐन निर्माण गर्न पहल गरिरहेको बताउनुभयो ।

अहिले काम गर्ने अनुकूल समयमा म्याद थप नभएको र मूल्यवृद्धिका कारण व्यवसायीलार्ई काम गर्न असहज भइरहेको उहाँको भनाइ छ । उहाँले अहिले सरकारले ल्याएको सार्वजनिक खरिद ऐन नियमावली पूर्वाधार र विकासमैत्री नभएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभयो । यसका लागि सरकार गम्भीर भएर कार्यान्वयन पक्षमा जानुपर्ने उहाँले बताउनुभयो ।

उहाँले स्रोत सुनिश्चता नभएको योजनाको काम गर्दा व्यवसायीमाथि समस्या आउने भन्दै अध्ययन गरेरमात्र काम गर्नुपर्ने बताउनुभयो । केही गैरजिम्मेवार व्यवसायीहरुले समयमा काम सम्पन्न नगर्दा, काम गर्न नसक्ने रेटमा निर्माणको जिम्मा लिँदा र गुणस्तरीय काम नगर्दा अन्य सबै व्यवसायीहरुले विश्वास गुमाउँदै गइरहेकाले यसलाई रोक्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले अहिले संघले व्यवसायीहरुले भोगिरहेको समस्याहरुलाई प्रमुख एजेण्डा बनाएर काम गरिरहेको पनि बताउनुभयो ।

साधारणसभामा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले अहिले निर्माण व्यवसायी मर्कामा रहेको बताउनुभयो । सरकारबाट अपेक्षा गरेअनुसारको भौतिक पूर्वाधार विकासका कामहरु हुन नसक्दा निर्माण व्यवसायीलाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । उहाँले सरकारले जिम्मेवार भएर निर्माण व्यवसायीको समस्या समाधानमा लाग्नुपर्ने पनि बताउनुभयो । पछिल्लो समय केही निर्माण व्यवसायीहरुले काम समयमा र गुणस्तरीयरुपमा सम्पन्न गर्न नसक्दा निर्माण व्यवसायीहरुको छवि बिग्रँदै गइरहेको पनि बताउनुभयो । उहाँले निर्माण व्यवसायीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीको समस्याबारे प्रदेशसभामा उठाउनुपर्ने कुरा उठाउने पनि बताउनुभयो ।

यस्तै, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले सरकारले निर्माण व्यवसायीको लगानीको सुरक्षा दिन नसकिरहेको बताउनुभयो । सरकारले बजेट रकम विनियोजन नगरी ठेक्का लगाउँदा समयमै पैसा नपाउँदा व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीबाट भएका काम र योजनाहरुको बिल भुक्तानी हुनुपर्ने, म्याद थप, बिमा निर्देशिका खारेज गर्नुपर्ने र साइट क्लिएर भएपछि मात्र ठेक्का निकाल्नुपर्ने उहाँले बताउनुभयो ।

संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईँले प्रगति विवरण प्रस्तुत गर्नुभयो । उहाँले संघमा अहिले ५ सय २५ जना साधारण सदस्य रहेकोमा ‘क’ वर्गको ११, ‘ख’ वर्गको ९, ‘ग’ वर्गको २८ र ‘घ’ वर्गको ४ सय ७७ सदस्य संघमा आवद्ध रहेको बताउनुभयो । उहाँले संघले विभिन्न संस्थाहरुलाई सहयोग गर्दै आइरहेको पनि बताउनुभयो ।