हेटौँडाः झरना साहित्यिक परिवार मकवानपुरको २९९ औँ साहित्य शृङ्खलाका अवसरमा चित्रकला प्रशिक्षण तथा कार्यशाला शुक्रबार बकैया–३, स्थित बुद्ध माविमा सम्पन्न भएको छ । हरेक महिना नियमित शृङ्खलाको आयोजना गर्दै आइरहेको झरना साहित्यिक परिवारले आउँदो फागुनमा हुने पाँचौँ बकैया कला–साहित्य महोत्सवको पूर्वसन्ध्यामा यस कार्यशाला आयोजना गरेको हो ।
छ वटा विद्यालयका एक सय भन्दा बढी विद्यार्थीहरूको सहभागितामा कार्यशाला सम्पन्न भएको थियो । सूर्य सन्यासीले विद्यार्थीहरूमा चित्रकला सम्बन्धी आधारभूत ज्ञान दिनुका साथै हरेक विद्यार्थीले आफूभित्र लुकेको कलाको पहिचान गरेर त्यसलाई बाहिर निकाल्न सकेमा आफ्नो जीवनमा केही गरेर देखाउन सक्ने धारणा राख्नुभएको थियो ।