गुगल तस्बिर ।

हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन भई उद्योग तथा वाणिज्य कार्यालय रहने भएको छ । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको माघ ११ गतेको पत्रानुसार प्रदेशका जिल्लामा भएका घरेलु तथा साना उद्योग कार्यालयले यही माघ १६ गतेदेखि उद्योग तथा वाणिज्य कार्यालयको नाममा सेवा सञ्चालन गर्ने भएका हुन् ।

संघीय संरचनामा गएसँगै बागमती प्रदेश सरकारले प्रदेशमा रहने १२ वटा मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश नीति तथा योजना आयोग र मुख्य न्यायाधीवक्ताको कार्यालय र उक्त निकायका मातहतमा रहेका कार्यालयहरुका लागि संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको थियो । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मातहतमा रहेका एउटा निर्देशनालय र १३ वटा घरेलु तथा साना उद्योग कार्यालयहरुको नाम र संगठन संरचना तथा दरबन्दी तेरिज हेरफेर भएको छ । कार्यालयको कार्य सञ्चालनका लागि १३ जना कर्मचारीहरुको दरबन्दी स्वीकृत भएको छ ।

उद्योग तथा वाणिज्य कार्यालयले प्रदेश व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ अनुसार ६ लाख रुपैयाँदेखि ६ करोड रुपैयाँसम्म कुल पुँजी कायम रहेको उद्योग, वाणिज्य तथा कम्पनी (फर्म) हरुलाई सेवा दिनेछ । कार्यालयको उद्योग प्रशासनसम्बन्धी कार्य, वाणिज्य प्रशासनसम्बन्धी कार्य, प्रवद्र्धनात्मक कार्य, उपभोक्ता हित संरक्षण तथा बजार अनुगमनको काम, कर्तव्य र अधिकार तोकिएको छ ।