शैक्षीक सामग्री प्रर्दशनी गरिदै

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा शुक्रबार दोस्रो वृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रथम चरणमा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले विषयगत शैक्षिक प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । हेटौंडा–४ मा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यार्थीको सहभागितामा निर्माण गरिएका विज्ञान, सामाजिक र गणित विषयको शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो । नगर प्रमुख लामाले प्रदर्शनीको अवलोकनसमेत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा सांस्कृतिक नृत्य तथा गायन प्रतियोगिता भएको छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ तथा भारती पाठकको विशेष आतिथ्य थियो ।

विषयगत प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रममा रोज एकेडेमी, भूटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, नवोदय शिशु सदन, व्रह्मदिक एकेडेमी, सत्यम् जेभियर्स मावि, श्रमिक मावि र आमसाई स्कूलको सहभागिता थियो । हेटौंडा उमपहानगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय र विभिन्न क्याम्पसका विद्यार्थीले पनि कार्यक्रमको अवलोकन गरेका थिए ।

विषयगत शैक्षिक सामग्री प्रदर्शनीअन्तर्गत् सामाजिक विषयको प्रदर्शनीमा आधुनिक राष्ट्रिय मावि प्रथम, ब्रह्मदिक एकेडेमी द्वितीय र श्रमिक मावि तृतीय भएका छन् । गणित विषयको सामग्री प्रर्दशनीमा भूटनदेवी मावि प्रथम, श्रमिक मावि द्वितीय र आधुनिक राष्ट्रिय मावि तृतीय भएका छन् । विज्ञान विषयको सामग्री प्रदर्शनीमा भूटनदेवी मावि प्रथम, आधुनिक राष्ट्रिय मावि द्वितीय र सत्यम् जेभियर्स बोर्डिङ तृतीय भएका छन् ।

एकल गायनतर्फ श्रमिक माविका अमन माझी प्रथम, ब्रह्मदिक माविका दियान्सु बानियाँ द्वितीय र आधुनिक राष्ट्रिय माविका रञ्जिता सुनार तृतीय भएका छन् । यस्तै, सांस्कृतिक नृत्य प्रतियोगितामा ब्रह्मदिक एकेडेमी प्रथम, श्रमिक मावि द्वितीय र भूटनदेवी मावि तृतीय भएका छन् ।

विज्ञान, गणित र सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको समूहले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विषयगत प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका शिक्षकले पनि क्रमशः ३ हजार, २ हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयको समूहले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयको नृत्य प्रशिक्षकलाई क्रमशः ३ हजार, २ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् । एकल गायन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटा, प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, विभिन्न क्याम्पसका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा संस्थापकहरुको आतिथ्य थियो ।