हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा लामो समयदेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ । दैनिकजसो घर भत्काएर क्षति पुर्याउँदै आएको हात्तीले शनिबार भने बालीनालीमा क्षति पुर्याएको छ ।
शनिबार मनहरी–८ स्थित सिमपानीमा जंगली हात्तीले गाउँमा छिरेर खेतबारीमा रहेको मकैका बोटहरु खाएर क्षति पुर्याएको छ । स्थानीय, पर्सा राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोली र कत्लेखोलाबाट सहायक प्रहरी निरीक्षकको संयुक्त टोली खटेर बिहान ६ बजे हात्तीलाई जंगलतिर धपाएको प्रहरीले जनाएको छ ।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जबाट आएको भाले हात्ती एमगजले उक्त क्षेत्रमा मानवीय, भौतिक संरचना र बालीनालीमा क्षति पुर्याउँदै आएको छ । एमजगले ५ महिना अघि मात्रै मनहरी–४ की एक महिलाको ज्यानसमेत लिएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समितिलाई हात्तीले मनहरीमा पुर्याउँदै आएको क्षतिबारे जानकारी गराउँदा पनि समस्या समाधान हुन नसकिरहेकोे उहाँले बताउनुभयो । उक्त स्थानमा पोथी हात्तीहरु रहेका कारण अरु हात्तीहरु धपाए पनि फर्केर आउने गरेकाले त्यही आसपास क्षेत्रमा बढी क्षति पुर्याउँदै आएको छ ।
हात्तीले पुर्याएको क्षतिबारे निकुञ्ज व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयसँग पटकपटक छलफल गर्दै आए पनि हात्तीलाई नसारेको कारण सधैँ समस्या भइरहको अध्यक्ष कालाखेतीले बताउनुभयो । निकुञ्जले हात्ती आउने बेला धपाउने गरे पनि हात्तीले नटेर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
उहाँले निकुञ्ज आसपास क्षेत्रमा छेकबार र कम्पाउन्ड बनाए पनि खोलाबाट आउने बताउनुहुँदै हात्तीलाई सारेर लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले त्यस क्षेत्र आसपासका जनताहरुलाई रातको समयमा अत्यावश्यक काम बाहेक जंगल ननिस्कन र हात्तीलाई नजिस्काउन पनि आग्रह गर्नुभयो ।