हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज शनिबारदेखि चौथो संस्करणको अन्तर गाउँपालिकास्तरीय शहीद रुद्र पाख्रिन/बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा २ वटा आयोजक टिमसहित ११ वटा टिमको सहभागिता रहेको छ ।
पालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताका लागि पालिकाबाट ४ लाख रुपैयाँ प्राप्त भएको छ । लिग चरणमा सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख २५ हजार रुपैयाँ र उपविजेता टिमले ७५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट गोलरक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ पालिकाले ३ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गर्नुहुनेछ ।











