हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सकिएको खेलकुदमा शारदा मावि प्रथम, बंशगोपाल मावि प्राविधिक शिक्षालय द्वितीय र चण्डिका मावि तृतीय भएको छ । भानु मावि सान्त्वना भएको छ ।
खेलकुद विकास समिति मकवानपुरगढी गाउँपालिकाको आयोजना, बंशगोपाल माध्यमिक विद्यालयको संयोजन तथा व्यवस्थापनमा पालिकास्तरीय राष्ट्रपति रनिङ्शिल्ड छनौट प्रतियोगिता भएको हो । पालिकास्तरीय प्रतियोगितामा सहभागी भई छनोट भएका खेलाडीहरुले अब जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिताअन्तर्गत छात्र भलिबलमा रुपनारायण मावि प्रथम, वंशगोपाल मावि द्वितीय भएको छ भने छात्रातर्फ भानु मावि प्रथम र शारदा मावि द्वितीय भएको छ । कबड्डीमा वंशगोपाल मावि प्रथम छात्र र छात्रा दुबैतर्फ प्रथम भएको छ भने चण्डिका मावि द्वितीय भएको छ ।
प्रतियोगितामा पालिकाका १० विद्यालयका चार सय भन्दा बढी विद्यार्थी सहभागी भएको बंशगोपाल माविका प्रधानाध्यापक बिक्रम चौरेलले जानकारी दिनुभएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपालीसहित वडाअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो भने समापन कार्यक्रम २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिनको प्रमुख आतिथ्यमा भएको थियो । समापन कार्यक्रम पालिकाको खेलकुद विकास समितिका अध्यक्ष हीरा स्याङ्तानको अध्यक्षतामा भएको थियो ।