महोत्सव समापनको अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्षहरुलाई सम्मान गरिँदै ।

हेटौँडाः हेटौंडाको टिसिएन चौरमा आयोजना भएको बृहत् खेलकुद तथा व्यापार महोत्सवको सकिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा पुस ५ गतेबाट सञ्चालन गरेको महोत्सव बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

केही विवाद र रस्साकस्सी बीच हेटौंडामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सव सबैको सहयोगबाट सम्पन्न भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले जानकारी दिनुभएको छ । महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन, तेक्वान्दो, महिला फुटबल, राष्ट्रिय तेक्वान्दो, क्युकोसिन, आइटिएफ, राष्ट्रिय उसु, हक्की, महिला राष्ट्रिय भलिबल, रेस्लिङ र कबड्डी प्रतियोगिता सञ्चालन भएको थियो । महोत्सवमा ४० जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक प्रस्तुती दिएका थिए ।

बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा महोत्सव समापन कार्यक्रम भएको थियो । खेल क्षेत्रको विकास गर्ने उद्देश्यसहित आयोजित महोत्सव सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उद्देश्य अनुरुपको काम गर्न अनुरोध गर्दै उहाँले खेलसहित जिल्लाको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उहाँको प्रतिबद्धता रहेको थियो । खेलकुद क्षेत्रको विकासका लागि योजनाबद्ध काम गर्न उहाँले खेल सम्बद्ध संघसंस्थाका प्रमुख प्रतिनिधिहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

महोत्सवको समापनका क्रममा खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेलकुद प्रतियोगिता भएको थियो । महोत्सवको अन्तिम दिन महिला तथा पुरुष कबड्डी प्रतियोगिता सञ्चालन भएको थियो । समापनका क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न खेलकुद संघका अध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।