हेटौंडाः हेटौंडामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवमा आइतबार सांगीतिक कार्यक्रममा दर्शक रमाएका छन् । महोत्सवमा गायक रमेश प्रसाईं र गायिका कल्पना दाहालबीच भएको दोहोरीमा दर्शक रमाएर नाचेका हुन् ।
दैनिक विभिन्न खेलकुदसँगै सांगीतिक प्रस्तुतिले महोत्सवमा दर्शकको आकर्षण बढ्दै गएको छ । हेटौंडा–१० को टिसियन चौरमा भइरहेको महोत्सवमा आइतबार प्रसाईं र दाहालले विशेष लोकदोहारी प्रस्तुति दिएका थिए । उनीहरुको दोहोरीमा महोत्सवका दर्शकहरुले नाचेर साथ दिएका थिए ।
आइतबारै चर्चित गायिका अस्मिता अधिकारीले पनि सांगीतिक प्रस्तुति दिएकी छिन् । अधिकारीले आफ्ना लोकप्रिय गीतहरु गाएकी थिइन् । उनको गीतमा पनि दर्शकले नाच्दै र गाउँदै रमाइलो गरेका थिए । महोत्सवमा जादुगर बलराम सरकारको जादु प्रस्तुतिलाई पनि दर्शकले रुचाएका थिए ।
महोत्सवमा आज सोमबार चर्चित गायक प्रमोद खरेल, गायिका सहिमा श्रेष्ठ, गायक असिमराज कटुवाल र जादुगर बलराम सरकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । पुस ५ गतेबाट सुरु भएको महोत्सवमा दर्शकको उपस्थिति बढ्दै गएको छ । आज सोमबार र भोलि मंगलबार सार्वजनिक विदा भएकाले दर्शकको संख्या अझ बढ्ने आयोजकको अनुमान छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेलकुद प्रतियोगिता तथा प्रदर्शनी हुनेछ । महोत्सव आयोजक समितिका संयोजक एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले खेलकुदको विकासका लागि आयोजित महोत्सवमा दर्शकको उपस्थ्तिि बढ्दै गएको बताउनुभयो ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइललगायत विभिन्न वस्तु तथा सेवाको प्रवद्र्धनात्मक स्टलहरु रहेका छन् । महोत्सवमा मनोरञ्जनात्मक खेलसहितको बालउद्यान पनि रहेको छ ।