हेटौँडाः विद्यालय तहको शिक्षा कति प्रभावकारी छ भन्ने अध्ययन हुन सकेको छैन । तर, आफूले शिक्षा हासिल गरेको विद्यालयको अवस्था कस्तो छ भन्ने विषयमा भने अधिकांश विद्यार्थीले चासो राख्ने गरेका छन् । आफूले शिक्षा हासिल गरेको विद्यालयमा नयाँ पुस्ताका विद्यार्थीले राम्रो शिक्षा हासिल गरुन् भन्ने उद्देश्यले पूर्वविद्यार्थीहरु आफूले शिक्षा लिएको विद्यालयमा सक्दो योगदान गर्न अग्रसर देखिन्छन् ।
हेटौँडा–४, कर्रास्थित श्रमिक माविबाट २०५७ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको एक समूहले आफूले शिक्षा हासिल गरेको विद्यालयप्रति चासो राख्दै विद्यालयमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भीमफेदी गाउँपालिका–१, सानुटारमा वनभोज कार्यक्रमको आयोजना गरेर पूर्वविद्यार्थीको समूहले विद्यालयमा सहयोगीको भूमिका निर्वाह गर्ने निर्णय गरेका छन् । श्रमिक माविका पूर्वविद्यार्थीले सामूहिक रुपमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सक्दो सहयोग गर्ने निर्णय भएको पूर्वविद्यार्थी दिपेश खड्गीले जानकारी दिनुभएको छ ।
विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थीलाई आवश्यक सहयोगलाई प्राथमिकतामा राखेर विद्यालय प्रशासनसँग समन्वय गरी आवश्यक काममा सहकार्य गर्ने निर्णय पनि गरिएको खड्गीले बताउनुभयो । “हामीले नै पढेको विद्यालयमा आजको समयअनुकुल शिक्षा दिने अवस्था रहन सक्यो भने हामीले निजी विद्यालयमा विद्यार्थी भर्ना गर्नुपर्ने थिएन” पूर्वविद्यार्थी रवि नकर्मीले भन्नुभयो, “विद्यालय सुधार्न हामी आफैं पनि लाग्नुपर्छ । हामीले निजी विद्यालयलाई तिर्नुपर्ने चर्को शूल्कबाट पनि छुटकारा पाउँछौं ।”
पूर्वविद्यार्थीको वनभोज कार्यक्रमका अतिथि श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयको अवस्था, विद्यालयले आगामी योजनाका बारेमा जानकारी गराउनुभयो । विद्यालयले शैक्षिक सुधारका क्रियाकलाप गर्दै आएको, वडा कार्यालय, पूर्वविद्यार्थीको सहयोग प्राप्त भएको उल्लेख गर्नुहुँदै संघीय सरकारको बजेटमा पनि विद्यालयको भौतिक पूर्वाधारका लागि बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । विभिन्न किसिमबाट विद्यालयमा पूर्वविद्यार्थीको उपस्थिति रहँदै आएको बताउनुहुँदै यही पुस १० गतेदेखि १४ गतेसम्म वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक दाहालले बताउनुभयो ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा पूर्वविद्यार्थीलाई संस्थागतरुपमा एकीकृत गरेर विद्यालयको सहयोगी इकाईको रुपमा विकसित गर्दै लैजाने उहाँले बताउनुभयो । पूर्वविद्यार्थीको ज्ञान, सीप, दक्षतालाई उपयोग गरी नमूना विद्यालयको रुपमा स्थापित गर्ने प्रतिवद्धता प्रधानाध्यापक दाहालले व्यक्त गर्नुभएको छ । श्रमिक माविमा अहिले पाँच सय ३७ जना विद्यार्थी नियमित उपस्थित भइरहेको उहाँले जानकारी दिनुभयो ।