Home मुख्य समाचार जाडो बढेसँगै अस्पतालमा बिरामीको चाप कम

जाडो बढेसँगै अस्पतालमा बिरामीको चाप कम

हेटौंडाः मकवानपुरमा रहेको भीमफेदी प्राथमिक अस्पतालमा जाडो सुरु भएसँगै उपचारका लागि आउने बिरामीको चाप कम भएको छ । गाउँपालिका पहाडी क्षेत्रमा पर्ने र जाडो हुने कारणले अस्पतालमा बिरामीको चाप कम भएको अस्पतालकी मेडिकल अधिकृत डा. पूजा यादवले जानकारी दिनुभयो ।

डा. यादवका अनुसार अस्पतालमा गर्मी महिनामा दैनिक औसत ४० जना बिरामी उपचारका लागि आउने गरेकोमा अहिले दैनिक २५ देखि ३० जना बिरामी आउने गरेका छन् । प्राथमिक अस्पतालबाट डा. यादवले सेवा दिनुहुन्छ भने सहयोगका लागि ३ जना सहयोगी रहेका छन् । अस्पतालमा एक जना डाक्टरले मात्र सेवा दिन नभ्याउने र जनशक्तिको अभाव रहेको डा. यादवले बताउनुभयो ।

गाउँपालिकाका बासिन्दाहरुको बीमा भएका कारण अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या वृद्धि भएको छ । डा. यादवका अनुसार अस्पतालले ओपीडी, एमएसएस, गर्भपतन, डेलिभरी, बीमालगायतका सेवा प्रदान गर्ने गरेको छ । गाउँपालिकाको अस्पतालमा अन्य पालिकाका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । अस्पतालमा ४० वर्षमाथिका बिरामी धेरै आउने गरेको डा. यादवले बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखामा एउटा एम्बुलेन्स रहेको छ । अहिलेको समयमा बिरामीहरुमा रुघाखोकी, पखाला तथा बान्ताजस्ता समस्या देखिने गरेको छ । पालिकाको अस्पतालमा जाँच गर्न आउने सेवाग्राहीमा धेरै उच्च रक्तचाप, खाना विषाक्तता, मधुमेह, दुर्घटनालगायतका समस्यासमेत देखिने डा. यादव बताउनुहुन्छ । पालिकाका बासिन्दाहरुले सिधै धाराको पानी खाने गरेकाले धरै बिरामीहरुमा पानी संक्रमणको समस्या देखिने उहाँले बताउनुभयो ।

अस्पतालले रिफर गर्नुपर्ने बिरामीलाई हेटौंडा अस्पताल, भरतपुर अस्पताल, टिचिङ अस्पताल तथा बिरामीको स्वेच्छाको अस्पतालमा रिफर गर्ने गरेको छ । डा. यादवका अनुसार बिरामीहरु पुनः जाँचका लागि समेत आउने गरेका छन् । भीमफेदी गाउँपालिकामा प्राथमिक अस्पतालका साथै ८ वटा स्वास्थ्यचौकी रहेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाथ थिङका अनुसार पालिकाले यस वर्षसम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अस्पतालको भवन अन्तिम चरणमा आइपुगेको छ भने भित्रको पेन्टिङ र डेकोरेसन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

Exit mobile version