हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले काठमाडौंकै मछिन्द्र एफसीलाई १–० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।
चित्लाङको जीतमा एरोन थापाले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्लेयर अफ द म्याच थापा घोषित भए । उनले १० हजार प्राप्त गरे । हारसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्र छैठौं बागमती गोल्डकपको विजेता हो भने गत संस्करणको उपविजेता टोली समेत हो । सेमिफाइनल प्रवेश गरेको चित्लाङले बिहिबार सिमराको नव जनजागृति युवा क्लबसँग खेल्नेछ ।
पहिलो सेमिफाइनल खेल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब सर्लाहीबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
