हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले आफ्नै भवन निर्माण गर्ने भएको छ । अहिले भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालयका लागि आफ्नै भवन निर्माण गर्न लागेको वडा अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।
शनिबार वडाका विभिन्न संघसंस्था, बुद्धिजीवी र वडाबासीहरुको उपस्थितिमा सर्वदलीय बैठक बसी भवन बनाउने सहमति भएको अध्यक्ष घिमिरेले बताउनुभयो । छलफलको क्रममा वडा सदस्यहरु, राईटोल टोल विकास संस्थाअन्तर्गत् रहेको रत्नकाली मन्दिर व्यवस्थापन समिति, विभिन्न संघसंस्था, सरोकारवाला वडाका दलीय संयन्त्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफलपश्चात तत्कालीन रत्नकाली स्कूल रहेको राइटोलको जग्गामा भवन निर्माण गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
भवन निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटले फाउण्डेशन (जग) को काम हुने घिमिरेले बताउनुभयो । अर्काे आर्थिक वर्षसम्म भवन निर्माण कार्य सम्पन्न गर्ने गरी अगाडि बढ्ने घिमिरेको भनाइ छ । ९ कोठाको ३ तल्ले भवनमा सभाहलसहित सुविधा हुनेछ ।