हेटौँडाः हेटौँडा कप एशियन खुल्ला रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् । उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंक बनाउँदै उपाधि जितेका हुन् । कुण्डुले नगद एकलाख पच्चिस हजार पुरस्कार राशी हात पार्न सफल भएका छन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेन माथि जित हात पार्दै एकल बिजेता बनेका छन् ।
नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ७/७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद पचहत्तर हजार र तेश्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रित सिं नगद चालीस हजार जित्न सफल भएका छन् । प्रतियोगितामा बंगलादेशका मोहम्मद सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ , एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल बनेका छन् ।
यसैगरी हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहे । यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेट्रान्स देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनी रानासिंघे महिला प्रथम, इसानाभि दोश्रो, बेष्ट युथ (१० वर्ष) इस्माइल सिद्धिकि, ओम कश्यप, (१२ वर्ष) कुमार भमरद्वाज, अविन पाण्डे, (१४ वर्ष) आयुश डेमानराउरा, अत्रिञ्जय, (१६ वर्ष) देव राज, पुरुषोत्तम सिलवाल, (१८ वर्ष) कमद मिश्र, मुहान श्रेष्ठ, बेष्ट अनरेटेड रसिक सिद्धिकि, स्वर्णिम दुवाल, अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगी, शिभम् चौधरी, अन्डर १९०० रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमशः फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षमा सम्पन्न पुरस्कार वितरण एवम् समापन समारोहमा बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदमा प्रदेश सरकारको लगानी उल्लेख्य रहेको बताउनुभयो । खेलमार्फत प्रदेशको नाम राख्न सफल भएको उल्लेख गर्नुहुँदै मन्त्री मोक्तानले देशका सात प्रदेशमध्ये बागमती प्रदेशले खेलकुदमा उल्लेख्य लगानी र गतिविधि गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशव लाल श्रेष्ठको आतिथ्य रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई नगद ५ लाख ८७ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगिताको निर्देशक समेत रहनुभएका नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले आगामी वर्ष जिम नर्म प्रतियोगिता गर्ने घोषणा गर्नुभएको छ ।