गाँजा तथा अफिम खेती गैरकानुनी मानिन्छ । गाँजा तथा अफिमलाई लागूऔषधको रुपमा परिभाषित गरी यसको उत्पादन, भण्डारण, ओसारपसार, बेचविखन र सेवनलाई कानुनले प्रतिबन्धित गरेको हो । नेपालमा जस्तै विश्वका अधिकांश देशमा गाँजा तथा अफिम सेवन, बिक्री वितरण, ओसारपसार तथा खेतीपाती गर्न बन्देज लगाइएको छ भने केही देशमा गाँजा खेती खुला गरिएको छ । पछिल्लो समय नेपालमा पनि आवश्यक नियमन गरेर गाँजा खेतीलाई बैधानिक बनाउनुपर्ने माग उठिरहेको भए पनि यस विषयमा सरकारी स्तरबाट कुनै पहल सुरु भएको छैन । गैरकानूनी मानिएको गाँजा तथा अफिम देशका पहाड तथा तराईका विभिन्न क्षेत्रमा खेती हुँदै आएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गरेर खेती गरिएको गाँजा तथा अफिम फडानी गरी नष्ट गर्ने गरेको भए पनि यसको खेती अन्त्य हुन सकेको छैन । मकवानपुर जिल्लाको पश्चिमी भागमा पनि गाँजा तथा अफिम खेती हुने गरेको र बेलाबेलामा प्रहरीले फडानी गरी नष्ट गर्ने गरेको छ ।

सोमबार पनि प्रहरीले मकवानपुरका २ वटा पालिकाका विभिन्न क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गरेको छ । जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको २–२ वटा वडाको विभिन्न स्थानमा ३५ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले एकैदिन फडानी गरेर नष्ट गरेको हो । प्रहरी निरीक्षकको कमाण्डमा ५० जनाको प्रहरीको टोली राक्सिराङ गाउँपालिकाको ६ र ८ नम्बर वडा तथा कैलाश गाउँपालिकाको १ र २ नम्बर वडामा गाँजा खेती फडानीको लागि परिचालन गरिएको छ । ड्रोन क्यामेरासहित प्रहरी टोली परिचालन गरेर गाँजा खेती फडानीको लागि परिचालन गरिएको बताइएको छ । प्रहरीले गत कात्तिक महिनामा पनि सोही गाउँपालिकाका विभिन्न स्थानमा एक सय ६० बिगाह क्षेत्रमा लगाइएको गाँजा खेती फडानी गरेको थियो । प्रहरीले ३ दिनमा गत वर्षको भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

मकवानपुरको अन्यत्रभन्दा राक्सिराङ र कैलाश गाउँपालिकामा अधिक मात्रामा गाँजा खेती हुने गरेको छ । स्थानीयहरुले व्यावसायिकरुपमा नै गाँजा खेती गर्ने र प्रहरीले वर्षेनि गाँजा खेती फडानी गर्ने क्रम रोकिएको छैन । गाँजा खेती गरेको पाइएमा प्रहरीले फडानी गरेर नष्ट गर्नेमात्र गर्दै आएको छ । प्रहरीले एक केजी गाँजा बोकेर हिँडेको मानिसलाई पक्राउ गरेर हिरासतमा राख्ने, अनुसन्धान गर्ने, अदालतमा मुद्दा दायर गरेर जेलमा हाल्ने गरेको भए पनि बिगौं बिगाह क्षेत्रफलमा गाँजा लगाउनेलाई अहिलेसम्म पक्राउसमेत गरेको सुनिएको छैन । गाँजाको भण्डारण, ओसारपसार, बेचविखन र सेवन गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले गाँजा खेती गर्ने जग्गाधनी वा सम्बन्धित मानिसलाई कुनै कानुनी कारबाहीको दायरामा नल्याउनुको कारण बुझ्न सकिएको छैन । गाँजा खेती गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था नभए कानुन बनाएरै भए पनि खेती गर्ने लाई पनि कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म गाँजा खेती रोक्न सकिँदैन ।

गाँजा व्यापारीको प्रलोभन, किसानको चाँडै धनी बन्ने चाहना र गाँजाको बैकल्पिक खेतीका लागि प्रोत्साहन नहुनुले गाँजा तथा अफिम खेती भइरहेको मान्न सकिन्छ । प्रहरी प्रशासनको कमजोर उपस्थिति र मिलेमतो पनि गाँजा खेतीलाई प्रोत्साहन गर्ने कारक तत्व बनिरहेको छ । लागूऔषध गाँजा तथा अफिमको कारोबार अन्त्य गर्ने हो भने सबैभन्दा पहिला यसको उत्पादन बन्द हुनुपर्छ । खेती गर्नेलाई कुनै कारबाही नहुने हो भने गाँजा खेती झनै मौलाउन सक्छ । जसको जमिनमा गाँजा खेती गरिएको छ उसलाई कानुनी कारबाहीको दायरामा ल्याउनेवित्तिकै सम्बन्धित जग्गाधनीले गाँजा खेती बन्द गर्न बाध्य हुने तथ्यलाई प्रहरी प्रशासनले नबुझेको जस्तो लाग्छ । गाँजाको उत्पादन रोकिनेवित्तिकै यसको ओसारपसार, बेचविखन तथा सेवनको समस्या स्वतः अन्त्य हुने र वर्षेनि गाँजा फडानी गर्नै नपर्नेतर्फ सम्बद्ध पक्षको ध्यान जानु आवश्यक छ ।