हेटौंडाः प्रस्तावित मकवानपुरगढी जेसीजले आज बुधबारबाट जेसीज सप्ताह सञ्चालन गर्ने भएको छ । जेसीजले ७ वटा कार्यक्रम गरी चार दिनसम्म जेसीज सप्ताह मनाउने भएको हो ।
जेसीज सप्ताहको सुरुवात बुधबार बिहान गाउँपालिकाको जीतपुर भञ्ज्याङमा स्वागत बोर्ड स्थापना गरिने भएको छ । बुधबार दिउँसो ज्वालादेवी आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण हुनेछ । बिहीबार बिहान जाल्पादेवी माविमा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम, हेमकर्ण माविमा शैक्षिक सामग्री वितरण तथा जनता माविमा लागूऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्न लागिएको मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले जानकारी दिनुभयो ।
यस्तै, शुक्रबार रानीशेरा माविमा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने भएको छ । अन्तिम दिन शनिबार मकवानपुरगढी क्षेत्रमा वनभोज कार्यक्रमसहित जेसीज सप्ताहको समापन हुने पुडासैनीले बताउनुभयो । ‘प्रस्तावित शाखाको रुपमा रहेको यस मकवानपुरगढी जेसीजले विविध कार्यक्रमको आयोजना गरी यस वर्षको जेसीज सप्ताह मनाउन लागेका छौं’, अध्यक्ष पुडासैनीले भन्नुभयो– ‘आगामी दिनमा पनि युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई निरन्तरता दिनेछौं ।’
जेसीज सप्ताह कार्यक्रमको मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष विजय पुडासैनी र सहमूल कार्यक्रम संयोजक उत्तम अधिकारी रहेका छन् । जेसीज सप्ताह कार्यक्रमको तयारी पूरा भएको मकवानपुरगढी जेसीजका महासचिव इरोज न्यौपानेले बताउनुभयो ।











