हेटौँडाः हेटौंडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता बुधबार बिहान सुरु भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा सुरु प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सदस्य सचिव भण्डारीले यस्ता खालका प्रतियोगिताले स्वदेशी खेलाडीहरुको पहिचान हुने बताउनुभयो । प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी उत्पादन र अरु खेलाडीलाई हौसलाका लागि प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक सहयोग गरेको बताउनुभयो । प्रदेश खेलकुद विकास परिषद्ले अन्य खेलहरुलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भण्डारीको भनाइ छ । आगामी फागुनमा बागमती प्रदेशले अन्तरप्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने उहाँले बताउनुभयो ।
बुद्धिचाल प्रतियोगितामा एक सय जना खेलाडी सहभागी छन् । प्रतियोगितामा निरञ्जन प्रजापतिले मुख्य निर्णायकको भूमिका सम्हाल्नुहुनेछ । आउँदो आइतबारसम्म हुने प्रतियोगिता स्विस लिग प्रणालीमा खेलाइनेछ । जसअन्तर्गत १ घण्टा ३० मिनेट र ३० सेकेन्ड थप पहिलो चालबाट हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै तृतीय हुनेले ४० हजार रुपैयाँ, चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौ हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैठौँदेखि १० औँ स्थानमा रहनेलाई खेलाडीलाई जनही १५ हजार रुपैयाँ र ११ औँदेखि १५ आँै हुने खेलाडीले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा संघका केन्द्रीय महासचिव धरम लामा, उपमहासचिव भोनालिसा खम्बु, प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की लगायतको आतिथ्य रहेको थियो ।











