हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र प्राध्यापक कल्याणकारी समितिबीच सहमति भएसँगै पठनपाठन सुरु भएको छ । समितिका अध्यक्ष विश्वास सापकोटाका अनुसार आइतबार प्रतिष्ठान र आफूहरुबीच दुई बुँदे सहमति भएसँगै सोमबारबाट पठनपाठन सुरु भएको हो ।

प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन र प्राध्यापक समितिका तर्फबाट अध्यक्ष सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । प्राध्यापकहरुले गत कार्तिक २२ गतेदेखि तलबभत्ता समयमै नपाएकोलगायतका विभिन्न ७ बुँदे माग राख्दै पेनडाउन गर्दै आएका थिए । आइतबार प्रतिष्ठानका कूलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र प्राध्यापक कल्याणकारी समितिको छलफलबाट सहमति भएको हो ।

सहमतिअनुसार प्रतिष्ठानका कूलपति जमकट्टेलले पुस ११ गतेसम्ममा भुक्तानी हुनुपर्ने रकम प्रतिष्ठानलाई उपलब्ध गराउने मौखिक सहमति भएको अध्यक्ष सापकोटाले बताउनुभयो । उक्त सहमतिअनुसार आफूहरुको माग पूरा नभए आन्दोलनलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।

यस्तै, प्रतिष्ठानमा कार्यरत प्राज्ञिक जनशक्तिहरुको स्थायित्व तथा वृत्तिविकासका लागि हाल रहेको ऐन तथा नियमावलीमा केही संशोधन गर्नका लागि आवश्यक पहल गर्ने सहमति भएको छ । पदाधिकारीको तर्फबाट रजिष्ट्रार राजेश प्रसाई, डीन प्रा. दुर्गाकुमारी खड्का मिश्र र प्राध्यापक कल्याणकारी समितिको तर्फबाट ३ जना डाक्टरहरु रोशनकुमार चौधरी, अजय यादव र वीपिन्द्र पाण्डे रहने गरी उक्त मागहरुको सन्दर्भमा सुझाव पेश गर्न पाँच सदस्यीय समिति गठन गरिएको उहाँले बताउनुभयो । उक्त समितिले १० दिनभित्र सुझाव उपकूलपति समक्ष पेश गर्नेछ । उहाँका अनुसार प्रतिष्ठानमा अहिले २४ जना प्राध्यापकहरु कार्यरत छन् भने २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।