हेटौंडाः हेटौंडा–१, राप्तीतटमा रहेको तरकारी तथा फलफूल बजारमा तरकारीको मूल्य स्थित रहेको छ । मंगलबारदेखि तरकारीको मूल्य स्थिर रहेको हो ।
मौसम परिवर्तनसँगै अहिले तरकारी सबैको घरघरमा नै उत्पादन हुने गरेको, हाँडीखोला, हटिया, पदमपोखरी र नवलपुर सबैतिर सजिलै तरकारी पाइने भएकाले तरकारीको मूल्य स्थित रहेको विनिता तरकारी सप्लायर्सका जगतबहादुर लामाले बताउनुभयो । अहिले सबैतिर तरकारीको कमी नभएको र तराई क्षेत्रमा निकासी नहुने भएकाले मूल्य स्थिर रहेको लामाले बताउनुभयो । जाडो मौसमभर तरकारीको मूल्य स्थिर नै रहनसक्ने उहाँले बताउनुभयो ।
आइतबार तरकारी थोक बजारमा रायोको साग प्रतिमुठा ५ देखि १० रुपैयाँमा र केराउ कोसा प्रतिकेजी ७० देखि ८० रुपैयाँमा बिक्री भएको थियो । यसअघि करिब १५ दिनअगाडि रायोको साग प्रतिमुठा ३० देखि ४० रुपैयाँ र केराउ कोसा प्रतिकेजी १२० देखि १४० रुपैयाँमा बिक्री भएको थियो ।
काउलीको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँ र बन्दाकोभीको थोक मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँ रहेको व्यवसायी कार्कीले बताउनुभयो । तरकारी थोक बजारमा आइतवार माछे खुर्सानी ६० रुपैयाँ, गाँजर ४० रुपैयाँ, पिँडालु ५० रुपैयाँ, मुला २५ रुपैयाँ र स्कुस ८ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिकेजी भेंडे खुर्सानी ६० रुपैयाँ, धनियाँ ५० रुपैयाँ, गोलभेंडा ३० रुपैयाँ, लौका २० रुपैयाँ, बोडी २० रुपैया, मकै बोडी ३० देखि ४० रुपैयाँ, आलु ४० रुपैयाँ र बरेला ३० रुपैयाँमा थोक बिक्री भएको छ ।