हेटौँडाः चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीले एउटा शव भेटेको छ । शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन जिल्लाको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको थियो ।
पौडेललाई आक्रमण गर्ने नरभक्षी बाघ खोज्दै जाने क्रममा आइतबार साँझ ५ बजेको समयमा मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमै एकजना पुरुषको शव बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ । शवको पहिचान हुन सकेको छैन । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गर्ने क्रममा शव भेटिएको हो ।