हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटबल प्रतियोगिताको उपविजेता बनेको मनहरी गाउँपालिकाको फुटबल टिमलाई मनहरी गाउँपालिकाले सम्मान गरेको छ । शनिबार बकैया गाउँपालिकामा भएको पहिलो सहिद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल खेलमा बागमती गाउँपालिकासँग टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित भई उपविजेता बनेको मनहरीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
उपविजेता हुँदा ५० हजार रुपैयाँ पाएको टिमलाई प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ दिने मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले घोषणा गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीले आउँदो कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने बताउनुभएको छ । आइतबार गाउँपालिकाको सभाहलमा अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष रेखा पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुेवेदी लगायतले खादा, प्रमाणपत्रसहित खेलाडिहरुलाई सम्मान गरेको छ ।