उपाधि साथ बागमती गाउँपालिकाको फुटबल टिम ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा भएको सहिद स्मृति बाटिका फुटबल प्रतियोगिताकोे उपाधि बागमती गाउँपालिकाले जितेको छ । शनिबार बकैया–४, जुरेलीमा भएको खेलमा मनहरी गाउँपालिकालाई टाइबे्रकरमा ४–३ गोलअन्तरले पराजित गर्दै बागमतीले उपाधि जितेको हो ।

कार्तिक २५ गते मनहरीको तर्फबाट गोल भए तापनि रेफ्रीले गोलको मान्यता नदिएपछि विवाद भएर स्थगित भएको खेल शनिबार सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि विजेता बागमतीले १ लाख रुपैयाँ र उपविजेता मनहरीको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । म्यान अफ द म्याच मनहरीका सुशील थापा मगर घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बागमतीका उमेश पाख्रिन, उत्कृष्ट डिफेन्डर बागमतीकै किरण बज्यु, उत्कृष्ट मिडफिल्डर मनहरीका विपिन तुम्सिङ र उत्कृष्ट फरवार्ड मनहरीकै राहुल थापा मगर घोषित भए । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा बकैया–७ खेलकुद विकास समितिका अध्यक्ष जयबहादुर थोकरको सभाध्यक्षमा प्रतियोगिता समापन कार्यक्रम भएको हो । कार्यक्रममा बकैयाका गाउँपालिकाका पूर्वअध्यक्ष दामोदर खनाल र वर्तमान उपाध्यक्ष भक्तबहादुर खत्रीलगायतको आतिथ्य रहेको थियो ।