हेटौंडाः हेटौंडा–१३, वनस्पतिका भत्तबहादुर भोम्जनसहित मिटरव्याज पीडितहरुले शुक्रबार पत्रकार सम्मलेन गर्दै आफूहरुलाई न्याय दिलाउन पहल गर्न आग्रह गरेका छन् । भोम्जनले आफूहरु घर र जग्गाबिहीन भएको भन्दै न्याय दिलाउनका लागि पहल गर्न आग्रह गर्नुभएको हो ।
भोम्जनले १२ धुर जग्गामा बनेकोे ३ तीन कोठे घरलाई सोही ठाउँकी चमेलीमाया मोक्तान र हेटौडा–८ का गंगाराज प्रधानले आफूहरुलाई थाहै नदिई पास गराएर लिएको आरोप लगाउनुभयो । आफू घरमा नभएको बेला आप्mनो श्रीमतीलाई मालपोत कार्यालयसम्म जाउँ भनी ललाईफकाई गरेर उक्त जग्गा पास गरी नचिनेका हेटौंडा—४ का ढुण्डीराज अधिकारीलाई ५ लाख ६० हजार रुपैयाँमा २०७८ असार २९ गते पास गराएको पाइएको र त्यो कुरा श्रीमतीलाई पनि थाहा नभएको उहाँको भनाइ छ ।
प्रधान र चमेलीले जग्गाको पैसा पनि नदिएको र सबै कुरा आफूलाई पछि थाहा भएको उहाँले बताउनुभयो । जग्गा कब्जा गर्ने उद्देश्यले आफ्नो छोरी निर्मलामाया भोम्जनलाई समेत फकाईफुलाई गरेर चेक अनादरको मुद्दामा दुःख दिने काम गरेको उहाँले जानकारी दिनुभयो । पैसा नभएको खाताको ८ लाख रुपैयाँको चेक काट्न लगाएर पछि पैसा नदिएको भनी त्यहि खाली चेकको आधारमा गंगाराजले जिल्ला अदालत मकवानपुरमा मुद्दा हालेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अनपढ भनी श्रीमतीलाई झुक्याई हाम्रो जग्गा र घर पास गरी लिने दिलाउने काम गरी हामीलार्ई ठूलो घात गरेको छ । त्यो घडेरी जग्गाबाहेक अरु जग्गा र घर छैन ।’ आफ्नी श्रीमतीको नाउँमा १२–१३ लाख रुपैयाँको लेनदेनको कागजसमेत गराइराखेको भोम्जनले गुनासो गर्नुभयो । ‘हामीले दिनु नपर्ने पैसा मागेर तनाव दिनुको साथै झुटो मुद्दा हालेर पीडामा पीडा थप्ने कामसमेत गरिरहेको छ’, भोम्जनले भन्नुभयो– ‘तनावका कारण घरपरिवार पनि बिग्रिसकेको छ ।’
वडामा उजुरी गर्दा पनि सुनुवाइ नभएको भन्दै भोम्जनले प्रहरीमा उजुरी गर्नलाई आफ्नो तर्फबाट बोल्ने कोही नभएको जिकिर गर्नुभयो । छोरा वीरबहादुर भोम्जनले राजीनामाको लिखित बदरको लागि अदालतमा फिरादपत्र दायर गरिराखेको उहाँले बताउनुभयो । आफ्नो घर छोड भन्दै हेटौंडा–४ निवासी ढुण्डीराज अधिकारीले भनेको वचन सम्झेर रातभर निद्रा नलाग्ने उहाँले बताउनुभयो ।
‘कसले न्याय देला भनेर भौंतारिरहेको छु’, भोम्जनले भन्नुभयो– ‘छोरी निर्मलामायाको पतिको मृत्यु भएकाले दुई जना नाबालक छोरीहरुसमेत मेरै घरमा बसिरहेका र छोरी रोजगारीको लागि विगत १७ महिनादेखि विदेशमा छिन् ।’ सानै उमेरमा विधुवा भएकी एकल महिलालाई सहयोग गर्नुपर्नेमा उल्टै मुद्दा हाल्ने गंगाराज प्रधान र चमेली मुक्तानलाई सजाय दिलाउन उहाँले आग्रह गर्नुभयो । आफूसहित गाउँका सत्रभन्दा बढी घरपरिवारलाई उठाउने काम उनीहरु दुई जनाले गरिरहेको उहाँले दावी गर्नुभयो ।











