हेटौंडाः आगामी मंसिर ७ गतेदेखि पोखरामा सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ खेल्ने बागमती प्रदेशको पुरुष क्रिकेट टिम घोषणा भएको छ । मंगलबार बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिता खेल्ने १४ जना खेलाडीको नाम सार्वजनिक गर्दै प्रदेश टिमको घोषणा गरेको हो ।
प्रदेश क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिता खेल्ने १४ खेलाडीको नाम सार्वजनिक गरेको छ । प्रदेश क्रिकेट संघले सार्वजनिक गरेको प्रदेशको १४ खेलाडीमध्ये मकवानपुरका ४ जना खेलाडी पर्न सफल भएका छन् । मकवानपुरका शुभ कंसाकार, रामनरेश गिरी, रिजन ढकाल र गौरव टिममा छनौट भएका हुन् ।
गत बिहीबार प्रदेश क्रिकेट संघले २७ जना खेलाडीलाई समावेश गर्दै प्रदेश टिम छनौटका लागि तालिममा बोलाएको थियो । जसमा मकवानपुरका पाँच जना खेलाडी पर्न सफल भएका थिए । जसमध्ये मकवानपुर क्रिकेट टिमका कप्तानसमेत रहेका सुमन सुनार प्रतियोगिता खेल्ने अन्तिम १४ मा नपरेका हुन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा मंसिर १६ गतेसम्म हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेश तथा दुई एकेडेमी टिम गरी कुल १२ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।











