Home अर्थ/व्यापार मकवानपुरमा एक लाख करदाता

मकवानपुरमा एक लाख करदाता

फाइल तस्विर

हेटौंडाः मकवानपुरमा १ लाख २ हजार ६ सय ८९ जना करदाता रहेका छन् । जिल्लामा कुल ४ लाख ६६ हजार ७३ जना जनसंख्या रहेकोमा २२ प्रतिशत करदाता भएको आन्तरिक राजस्व कार्यालय हेटौंडाले जनाएको छ ।

मकवानपुरमा आयकरमा ३१ हजार ८ सय ५७ जना, मूल्य अभिवृद्घि कर (भ्याट)मा ५ हजार ५ सय ३१ जना, अन्तःशुल्कमा १ हजार ६ सय १६ जना, व्यावसायिक प्यानमा ६ सय ६८ जना र व्यक्तिगत प्यानमा ७० हजार १ सय ६४ जना करको दायरामा समावेश भएका छन् । जिल्लाको कुल जनसंख्याको २२ प्रतिशत मानिस करको दायरामा आएको कार्यालयले जनाएको छ ।

व्यक्तिगत प्यान व्यक्तिले जुनै स्थानबाट पनि प्राप्त गर्न सक्ने हुनाले मकवानपुरका मानिसले अन्यत्रबाट पनि प्यान लिएको हुनसक्ने कार्यालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ७ अर्ब ५० करोड ३९ लाख ४२ हजार रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८० करोड ४५ लाख २४ हजार रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखेकोमा कार्तिक महिनासम्म १ अर्ब ८७ करोड ४६ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, कार्यालयले मदिरा, सुर्ति तथा अन्य अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न अनुमति लिनुपर्ने बताएको छ । कुनै व्यक्तिले आफ्नो कुल परम्परा एवम् संस्कृतिका लागि निजी उपयोग गर्न एक पटकमा पाँच लिटरसम्म रक्सी र दश लिटरसम्म जाँड बनाउन इजाजतपत्र लिन नपर्ने तर रक्सी र जाँड वर्षको ६ पटकभन्दा बढी बनाउन नपाउने कानुनी व्यवस्था रहेको छ । रक्सी र जाँड बनाउने व्यक्तिले कर अधिकृतलाई सूचना दिनुपर्ने व्यवस्था रहेको छ । कर कार्यालयका कर अधिकृत गुणराज भण्डारीले प्रत्येक व्यक्तिले सामान खरिद गर्दा बिल लिनुपर्ने र नलिएको अवस्थामा कर अधिकृतले जरिवाना गर्न सक्ने अधिकार भएको समेत जानकारी दिनुभयो ।

Exit mobile version