गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–९ मा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–१२ घर भई हाल भरतपुर महानगरपालिका–९ धौलागिरी मार्ग बस्ने ३५ वर्षीय सोराज मल्ल रहेको प्रहरीले जनाकारी दिएको छ ।

शुक्रबार बिहान ९ बजेर ४० मिनेटको समयमा मल्ल आफ्नै कोठामा घोप्टो अवस्थामा मृत फेला परेका थिए । मल्लले घरमा रंग लगाउने काम गर्ने गरेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, चितवनको भरतपुर महानगरपालिका–११, लामाटोलमा एकजना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा चितवन जिल्लाको दारेचोक गाउँपालिका–७ का ६९ वर्षीय लोक बहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार नवजागृति सामुदायिक वनको छेउमा बस्नेत मृत अवस्थामा फेला परेको थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवनको ईच्छाकामना गाउँपालिका–४ केवलकार नजिक अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएकोे छ । शुक्रबार राति ११ बजेको समयमा नामथर, ठेगाना नखुलेको मागी खाई हिँड्ने अन्दाजी ३२ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पुरुषलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल भरतपुर लगिएकोमा थियो । शनिबार बिहान १ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव सोही अस्पतालको शवगृहमा राखेको प्रहरीले जनाएको छ ।