पछिल्लो समय सामाजिक सञ्जाल हरेक मानिसको जीवनशैलीको एउटा पाटो बनिसकेको छ । युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, ट्वीटरजस्ता सामाजिक सञ्जालबिना मानिस बाँच्नै नसक्ने भइसकेको छ । अझ भाइबर, म्यासेन्जर, ह्वाट्सएपजस्ता एपबाट हुने भिडियो कल, च्याट र डकुमेन्ट शेयरको सुविधाले देश विदेशमा रहेका आफन्त तथा साथीभाइसँग सम्पर्क कायम गर्न सहज भइरहेको छ । यस्ता सामाजिक सञ्जालले जुनसुकै कुनाका घटना तथा विषयवस्तुलाई छोटो समयमै विश्वव्यापी बनाउने गरेको छ । मोबाइल वा कम्प्युटरमार्फत् इन्टरनेटको सहयोगबाट सजिलै यस्ता सामाजिक सञ्जाल चलाएर आम मानिसले विभिन्न प्रकारका, ज्ञान, सीप, मनोरञ्जन प्राप्त गरिरहेका छन् । सामाजिक सञ्जालले मानिसलाई आफ्ना सुख, दुःखका कुरा अभिव्यक्त गर्न तथा प्रतिभा प्रदर्शन गर्न उपयुक्त अवसर पनि प्रदान गर्दै आएको छ । तर, यिनै सामाजिक सञ्जालको दुरुपयोगबाट विविध समस्या सिर्जना पनि भइरहेको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगले पारिवारिक तथा सामाजिक विचलनका साथै आपराधिक घटना बढाएका कारण यसको प्रभावकारी नियमनको खाँचो औंल्याउने गरिएको छ ।
केही दिनअघि संघीय सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा तत्कालको लागि बन्द गराउने निर्णय गरेसँगै यसको पक्ष र विपक्षमा विभिन्न तर्कहरु सार्वजनिक भइरहेका छन् । सरकारले इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई मोबाइल तथा कम्प्युटरमा टिकटक बन्द गराउन निर्देशन दिएसँगै अहिले टिकटक बन्द भएको छ । इन्टरनेट ब्राउजर तथा एममार्फत् चलाउँदै आएको टिकटक अकाउन्टहरु अब नेपालमा चल्दैनन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले सोमबार भिडियो शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी, पारिवारिक संरचना र सम्बन्धलाई खल्बल्याउने गरी प्रचारप्रसार भइरहेकाले तत्काललाई टिकटक बन्द गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । सामाजिक सद्भाव बिथोल्यो भन्ने आधारमा टिकटक बन्द गरिएको भए पनि कहाँ, कसरी र कुन सन्दर्भमा टिकटकले सामाजिक सद्भाव बिथोलेको हो भन्ने स्पष्ट जवाफ सरकारी अधिकारीले दिएका छैनन् ।
करिब ६ वर्षअघि सार्वजनिक भएको टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनेको छ । चिनियाँ कम्पनीले सञ्चालन गर्दै आएको टिकटकलाई व्यवसाय प्रवद्र्धनको माध्यम पनि बनाइँदै आएको छ । टिकटक चलाउने व्यक्तिले आफूमा अन्तर्निहित प्रतिभा प्रष्फुटनका साथै आफ्नो व्यापार, व्यवसायको जानकारी दिने गरेका छन् । टिकटकबाट सार्वजनिक कतिपय सामग्रीले कुनै व्यक्ति विशेषको गुणगान गाउने र कुनै व्यक्ति विशेषको मानमर्दनसमेत हुने गरेको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको आलोचना गरिएका र मानमर्दन हुने किसिमका सामग्री टिकटकमा आउने गरेका कारण पनि सरकार टिकटक बन्द गराउने निर्णयमा पुगेको हुनसक्छ । हुन त विश्वका अन्य केही देशहरुले पनि टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्कलगायतका देशले टिकटक बन्द गरेका छन् । उनीहरुले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका भए पनि नेपालमा भने टिकटक बन्द गराउनुको ठोस र स्पष्ट कारण सरकारले बताएको छैन ।
टिकटकलगायत सामाजिक सञ्जालको विकासले हामीलाई धेरै कुरामा सहज बनाएको छ । स्वास्थ्य, शिक्षा, मनोरञ्जन, व्यापार–व्यवसाय, बैंक तथा वित्त, चिकित्सा, कृषिजस्ता आर्थिक र सामाजिक क्षेत्रमा यस्ता सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव देखिन्छ । सामाजिक सञ्जालले व्यक्तिगत सहजता पनि प्रदान गरेको छ । सामाजिक सञ्जालको उचित प्रयोग नहुँदा निम्तने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नु आवश्यक छ । यसका लागि सरकारले आवश्यक नियमन गर्नैपर्छ । सरकारले सामाजिक सञ्जालको प्रभावकारी नियमनको साटो एक्कासी टिकटकमाथि प्रतिबन्ध लगाउनुलाई धेरै नेपालीले सहज मान्न सकेका छैनन् । टिकटक बन्द गर्ने सरकारी निर्णयले टिकटकमा पहुँच बनाएका नेपालीलाई तरंगित बनाएको छ । सरकारको यस कदमले आगामी दिनमा अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले प्रतिबन्ध लगाउने हो कि भन्ने आशंका नेपाली नागरिकमा देखिएको छ । तत्कालका लागि बन्द गरिएको टिकटकलाई प्रभावकारी नियमनसहित पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक कदम चाल्नु उचित हुनेछ ।