सम्मानित भएपछि मेचि–महाकाली साइकलयात्री सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म साइकलयात्रा गर्ने साइकलयात्रीलाई सम्मान गरिएको छ । हिमालयन राइडर्स सोसाइटीले बिहिबार हेटौँडामा एक कार्यक्रमका बीच साइकलयात्रीलाई सम्मान गरेको हो । कार्तिक ११ गते मेचिबाट सुरु भएको साइकलयात्रा कार्तिक २० गते महाकाली पुगेर समापन भएको थियो ।

हेटौँडाका ११ जना र बुटवलका २ सहित १३ जनाको समूहले मेचीमहाकाली साइकलयात्रा गरेका थिए । साइकलयात्रामा हेटौँडाकी एक महिला पनि सहभागी थिइन् । “स्वास्थ्य, पर्यावरण, पर्यटन, खेलकुद र राष्ट्रको निम्ति साइकल” भन्ने नाराका साथै युवा शक्तिलाई विदेश पलायन हुनबाट रोकौं स्वदेशमै स्वरोजगारीको सिर्जना गरौं भन्ने सन्देश लिएर मेचिमहाकाली साइकल यात्रा गरिएको थियो । साइकल यात्रामा सहभागी १३ मध्ये हेटौँडाका २ जना यसअघि २०५४ सालमा पनि मेचि–महाकाली साइकलयात्रा गरिसकेका साइकलयात्री थिए । हेटौंडा–२ का भानुभक्त आचार्य र हेटौँडा–६ का लक्ष्मीचरण श्रेष्ठ २०५४ सालमा पनि पहिलो मेचि–महाकाली साइकलयात्रामा सहभागी हुनुहुन्थ्यो ।

मेचि–महाकाली साइकल यात्राको क्रममा सबै ठाउँमा उच्च सम्मान र स्नेह प्राप्त गरेको र यात्रामा कुनै किसिमको कठिनाई नभएको हिमालयन राइडर्स क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका साइकलयात्री चेतनाथ आचार्यले बताउनुभयो । सबैको साथ र सहयोगमा सहजै यात्रा सम्पन्न भएको उहाँको भनाइ थियो । हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षता तथा भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको प्रमुख आतिथ्यमा साइकलयात्री सम्मान कार्यक्रम भएको थियो ।