प्रदेश प्रहरीका खेलाडीहरुको सामुहिक तस्विर

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा, गाउँपालिकाका वडाहरुको सहयोगमा र शहिद स्मृति बाटिकाको संयुक्त समन्वयमा मंलबारबाट प्रतियोगिता सुरु भएको हो ।

बकैया–४ स्थित जुरेली मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष जय बहादुर थोकरको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन खेलमा आयोजक खेलकुद महासंघले विजयी सुरुवात गरेको छ । अयोजक खेलकुद महासंघले मकवानपुरगढी गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गरेको छ । म्यान अफ द म्याच आयोजकको तर्फबाट सुजन गुरुङ घोषित भए ।

उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर खत्री, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते हुनेछ । प्रतियोगितामा करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।