Home अर्थ/व्यापार हेटौंडा उपमहानगरपालिकाको बजेट तयारी, वडालाई ३२ करोड ९० लाखको सिलिङ

हेटौंडा उपमहानगरपालिकाको बजेट तयारी, वडालाई ३२ करोड ९० लाखको सिलिङ

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडालाई ३२ करोड ९० लाखको बजेट सिलिङ पठाएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को लागि योजना छनोट गरी बजेट बनाएर पेश गर्न सिलिङ पठाएको हेटौंडा उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख मनोज सुवेदीले बताउनुभयो ।

उपमहानगरपालिकाले वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ९, १०, ११ लाई १ करोड ५५ लाखको सिलिङ पठाएको छ । त्यस्तै वडा नम्बर ३, १२, १३, १४, १५, १६, १७ लाई भने १ करोड ८० लाखको सिलिङ पठाएको हो । वडा नम्बर १८ मा २ करोड ५० लाख र वडा नम्बर १९ मा भने २ करोड ३० लाखको बजेट सिलिङ पठाइएको आर्थिक प्रशासन शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

चालु वर्षमा हेटौंडा–१, ३, १२, १४, १५, १६ र १७ लाई १ करोड ८० लाख बजेट विनियोजन भएको थियो । त्यस्तै वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, ११, लाई चालु आव २०७६/७७ मा १ करोड ५५ लाख बजेट विनियोजन भएको थियो । वडा नम्बर १३ लाई भने १ करोड ८५ लाख बजेट विनियोजन गरिएको थियो भने वडा नम्बर १८ लाई २ करोड ५० लाख वडा नम्बर १९ लाई २ करोड ३० लाख बजेट विनियोजन गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले अगामी आर्थिक वर्षमा आफ्नो आम्दानी घट्ने भएपनि वडाहरुको बजेट कटौती नगर्ने भएको छ । ‘गत वर्षको भन्दा बजेट नघट्ने गरी बजेट सिलिङ पठाइएको छ’, सुवेदीले भन्नुभयो । चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाको आन्तरिक राजस्व आम्दानी घट्ने, लकडाउनले गर्दा ढुंगा, गिट्टी बालुवाको कर कम उठ्ने भएको छ । आगामी आर्थिक वर्षका लागि हेटौंडा उपमहानगरपालिकालाई संघीय सरकारले वित्तीय समानीकरणतर्फ ३२ करोड ७५ लाख र सशर्त अनुदान तर्फ ६६ करोड ४३ लाख विनियोजन गरेको छ । गत आर्थिक वर्ष संघीय सरकारले हेटौंडा उपमहानगरपालिकालाई वित्तीय समानीकरणतर्फ ३३ करोड ९५ लाख बजेट विनियोजन गरेको थियो भने सशर्ततर्फ ५१ करोड ५९ लाख बजेट विनियोजन गरेको थियो ।

संघीय सरकारले पनि आगामी वर्षका लागि चालु वर्षको भन्दा वित्तीय समानीकरणतर्फ साढे ५ करोड अनुदान घटाएर पठाएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । त्यस्तै अगामी आर्थिक वर्षमा भने सशर्त अनुदान केही बढेर आएको मेयर महतले बताउनुभयो । अगामी वर्षमा तलब बढ्ने, नयाँ स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु पनि थप भएर आएको उहाँले बताउनुभयो । यसकारण सशर्त अनुदानमा केही रकम बढेर आएको उहाँले बताउनुभयो । आर्थिक शाखा प्रमुख सुवेदीका अनुसार स्रोत अनुदान तथा बजेट बाँडफाँड समितिले गत वर्षकै तुलनामा वडाहरुलाई बजेट सिलिङ पठाएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले बजेट सम्बन्धी अभ्यास गरिरहेको र अहिले नै कति रकमको बजेट आउने भन्ने बारे भन्न नसकिने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिको चालु वर्षका लागि १ अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको थियो । जसमध्ये संघीय सरकारले ८५ करोड ५४ लाख, बागमती प्रदेश सरकारले ८ करोड ३४ लाख ९९ हजार र आन्तरिक स्रोतबाट ८७ करोड २९ लाख १ हजार जुटाएको थियो । चालु वर्षमा भने आन्तरिक राजश्वमा कमी आउने देखिएको छ । यस्तै बजेट सम्बन्धी हेटौंडा उपमहानगरपालिकाले विषयगत बजेटहरु ‘बजेट तर्जुमा समितिमा’ छलफल चलिरहेको छ । हेटौंडा उपमहानगरपालिकाले आफ्ना १९ वटै वडालाई सिलिङ पठाएर जेठ ३१ गतेसम्म योजना पेश गर्न भनेको छ । हेटौंडा उपमहानगरपालिकाले आउँदो महिना असारको १० गते पूर्ण बजेट ल्याउने भएको आर्थिक प्रशासन प्रमुख मनोज सुवेदीले जानकारी दिनुभयो । यसअघि संघले जेठ १५ गते बजेट ल्याएको थियो भने बागमती प्रदेश सरकारले आउँदो असार १ गते बजेट ल्याउने भएको छ ।

Exit mobile version