हेटौँडाः हेटौँडा–१७ स्थित हटिया निर्माणाधिन कभर्ड हलमा भएको प्रतियोगितामा काठमाडौँको चन्द्रागिरी तेक्वान्दो डोजाङ प्रथम भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र १२ कास्य पदकसहित चन्द्रागिरी डोजाङ प्रथम भएको हो ।
प्रतियोगितामा आयोजक क्रिएटिभ तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने किरण तेक्वान्दो डोजाङ तृतीय भएको छ । क्रिएटिभले ५ स्वर्ण, १२ रजत र १४ कास्य पदक जितेको छ । किरण तेक्वान्दो डोजाङले ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक जितेको छ । प्रतियोगितामा देशभरबाट तीन सय ५० जना खेलाडीको सहभागिता रहेको थियो ।
क्रिएटिभ तेक्वान्दो एकेडेमीको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर, बागमती प्रदेश खेलकुद विकास परिषद्, खेलकुद विकास समिति हेटौँडा–१७, हेटौँडा उपमहानगरपालिका वडा–१६, १७ र १८ को सहकार्यमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भएको हो । प्रतियोगिता आयोजना गर्नका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले सिल्ड तथा मेडल उपलब्ध गराएको आयोजक समितिका संयोजक भोजराज पराजुलीले जानकारी दिनुभएको छ ।
क्रिएटिभ तेक्वान्दो डोजाङका प्रमुख भोजराज पराजुलीको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्की, राष्ट्रिय तेक्वान्दो संघका कार्यबाहक सचिव राकेश कुमार, राष्ट्रिय तेक्वान्दो संघको जिल्ला अध्यक्ष मदन श्रेष्ठको आतिथ्य रहेको थियो ।











