हेटौंडाः मकवानपुर जिल्लाबाट १७० वटा मोटरसाइकल चोरी भएकोमा ९ वटा मात्र फेला परेको छ । गत आर्थिक वर्ष २०७९/८० मा चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा १७० निवेदन परेकोमा ९ वटा मोटरसाइकल मात्रै फेला पारी मोटरसाइकल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा ३५ वटा मोटरसाइकल चोरी भएकोमा प्रहरीले २ वटा मात्रै फेला परेको छ । प्रहरी नायव उपरीक्षक भण्डारीकाअनुसार मकवानपुर जिल्लाभित्रबाट चोरी भएका मोटरसाइकल अन्यत्र जिल्लामा प्रहरीले फेला पारी सवारी धनीले फिर्ता लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयमा जानकारी नहुने बताउनुभएको छ । वीरगन्ज नाका नजिक भएकाले भारत पुगेपछि मोटरसाइकल फेला पार्न नसकिने उहाँको भनाइ छ ।
मकवानपुरमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना उल्लेख्यरुपमा बढ्दै गएको छ । मकवानपुरमा सार्वजनिक स्थलमा जडान गरिएका सिसि क्यामेराको गुणस्तर राम्रो नभएकोले मोटरसाइकल चोरीका घटनामा संलग्नलाई पक्राउ गर्न कठिन भएको प्रवक्ता भण्डारी बताउनुहुन्छ । मकवानपुरमा प्रहरीको मातहतमा नगरपालिकाले राखेको ३५ वटा सिसि क्यामेरा छ । जसमा अहिलेको अवस्थामा १० वटा मात्र चालु रहेको छ, भने चालु रहेको पनि गुणस्तरको क्यामेरा नभएको उहाँको भनाई छ । भएको सिसि क्यामेराबाट मोटरसाइकलको नम्बर पहिचान गर्न नसकिएको भण्डारी बताउनुहुन्छ ।
भण्डारी भन्नुहुन्छ, “हामीसँग सिसि क्यामेराको लागि बजेट हुँदैन स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने हुन्छ, भएको सिसि क्यामेरा पनि नामको मात्र रहेको छ, गुणस्तरीय छैन, व्यक्तिले राखेका क्यामेर पनि गुणस्तरको नभएको र प्रहरीले दुख दिने गरेको भन्दै स्थानीयले क्यामेरा नै हटाएका छन्, हामी कुनै समान हराएका उजुरी आएमा पहिले सिसि क्यामेरा हेर्न जान्छौं जसले गर्दा कतिपय व्यक्तिले हैरान भएकोले क्यामेरा नै हटाएका छन् ।” प्रहरीले समान हराएका प्रमाणको रुपमा सिसि क्यामेरानै हेर्ने गरेको छ । जसले अनुसन्धानका लागि सहज हुन्छ ।











