हेटौँडाः नेपालले अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टि–२० विश्वकप क्रिकेट खेल्ने भएको छ । विश्वकपका लागि एसियाली छनोटको फाइनलमा प्रवेश गरेसँगै नेपालले वल्र्डकप खेल्ने निश्चित भएको हो । शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको सेमीफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल वल्र्डकपका लागि छनोट भएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा एक सय ३५ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपालले १७ ओभर १ बलमा २ विकेटको क्षतिमा विजयी भयो । नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रर्दशन गरे । आसिफले अविजित रहँदै ५० बलको सामना गरेर ६ चौका, २ छक्कासहित ६३ रन जोडे । विजयी पारीका लागि कप्तान रोहित पौडेलले २१ बलमा ३५ रन प्रहार गरे । ओपनर कुशल भुर्तेल ११ रन र गुल्सन झा २२ बलमा आउट भएका थिए ।
नेपालसँगै विश्वकपका लागि ओमान पनि छनोट भएको छ । आजै त्रिवि मैदानमा भएको सेमीफाइनल खेलमा बहराईनलाई १० विकेटले हराउँदै ओमान वल्र्डकपका लागि छनोट भएको हो । विश्वकप छनोट प्रतियोगिताअन्तर्गत फाइनलमा ओमान र नेपालबीच खेल हुनेछ । फाइनल खेल नेपालका लागि ओमानविरुद्ध बदला लिने अवसर समेत रहनेछ । समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेल आइतबार त्रिवि मैदानमा हुनेछ ।











