नेपाली नागरिकता लिएका विडारी र थापा ।

हेटौंडाः मकवानपुरमा दुई गैरआवसीय नागरिकले पहिलो पटक नेपाली नागरिकता लिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेढाईले सबै प्रक्रिया पुरा गरेका मकवानपुरका दुई जना गैरआवसीयलाई नागरिकता वितरण गर्नुभएको हो ।

नागरिकता लिनेमा हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । विडारी र थापा श्रीमान श्रीमती हुन् । थापा १५ वर्षदेखि र श्रीमती विडारी ११ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन ।

नागरिकता प्राप्त गरेपछि थापाले पुनः नेपाली नागरिकता लिन पाउँदा आफुहरुलाई खुशी लागेको बताउनुभयो । पुनः नागरिकता लिन पाउँदा विदेशमा रहेपनि देशप्रतिको मायालाई अझ प्रगाढ बनाउन सकिने उहाँको विश्वास छ । यसले देशमा आर्थिक रुपमा केही फाइदा पुग्ने उहाँको भनाई छ । आफुहरुले आएर देशमा लगानी गर्ने सक्ने बाटो खुलेको र जाँदा यहाँ भएको सम्पत्ति बेचेर र छोडेर जानुपर्ने अवस्था हटेको थापाले बताउनुभयो ।