हेटौंडाः मकवानपुर प्रहरीले ६१ बिगाह ३ कठ्ठा क्षेत्रफलमा लगाइएको लागुऔषध गाँजा खेती फँडानी गरेको छ । सोमबार जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानको लागुऔषध गाँजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मकवानपुर प्रहरीले लागुऔषध खेती फँडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको थियो । प्रहरीले राक्सिराङ गाउँपालिका–९, सोराङ, रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ बिगाह, राक्सिराङ–४, जयसिङताल, यतीखोला क्षेत्रमा २७ बिगाह ३ कठ्ठा र कैलाश–९ को गैरीखेत, साखिनी, वडा नम्बर–१०, को बाँझोखेत क्षेत्रमा १९ बिगाह लागुऔषध गाँजा फँडानी गरेको छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका अधिक गाँजा हुने स्थान भएकोले गाँजाको फुल खेल्ने समय पारेर नष्ट गरेको हो । प्रहरीले वर्षेनी ती स्थानहरुमा अवैध लागुऔषध खेति नष्ट गर्दै आएको छ ।











