हेटौंडाः कोरोना भाइरसको संक्रमणपछि देखिएको असहज परिस्थितिमा देश तथा विदेशबाट मकवानपुरका विभिन्न स्थानीय तहमा फर्कने जिल्लावासीलाई जिल्ला प्रवेश गरेपछि आवश्यकताअनुसार विश्राम गरी सम्बन्धित पालिकासम्म जानुअघि केहीसमय बस्ने स्थलको रुपमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको छ । जिल्लाका पालिका तथा संघ, संस्थासँगको समन्वय एवम् सहकार्यमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
घर फर्कने क्रममा जिल्ला प्रवेश गरिसकेपछि सम्बन्धित पालिका पुग्न सम्भव नभएको अवस्थामा बढीमा एकदिन खानेबस्ने सुविधासहित होल्डिङ सेन्टर सञ्चालन गर्ने योजना बनाइएको समन्वय प्रमुख खुलालले बताउनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण वैदेशिक रोजगारीमा गएकाहरु फर्कने तयारी भइरहेका बेला सम्बन्धित स्थानीय तहहरुले व्यवस्थापन गर्नु अघि बढीमा एकदिनसम्म सदरमुकाममै राख्न होल्डिङ सेन्टर सञ्चालन गर्ने योजना बनाइएको खुलालले जानकारी दिनुभयो ।
“भारतबाट आउने क्रममा हेटौंडामै रात पर्ने र आफ्नो घरसम्म पुग्न नसक्ने अवस्थाका नागरिकका लागि होल्डिङ सेन्टर सञ्चालन गर्ने योजना बनाएका हौं, साथै सम्बन्धित स्थानीय तहहरुले उनिहरुलाई लैजानका लागि व्यवस्थापन गर्न कम्तीमा ४ देखि ८ घण्टा लाग्ने हुँदा सो अवधिका लागि उनिहरुलाई एक दिनसम्म खाने र बस्ने व्यवस्थासहित होल्डिङ गर्न सेन्टर सञ्चालन गर्ने योजना बनाएका हौं”, प्रमुख खुलालले भन्नुभयो । होल्डिङ सेन्टर सञ्चालनका लागि स्थानीय तहहरुसँग छलफल गर्न भने बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो । सेन्टर सञ्चालन सम्बन्धी छलफलका लागि भोलि आइतबार स्थानीय तह समन्वय समितिको बैठक बोलाइएको र स्थानीय तहहरुसँग छलफल गरेर थप निर्णयमा पुग्ने उहाँले जानकारी दिनुभयो ।