हेटौंडाः अस्मिता नेपालले राक्सिराङ गाउँपालिकालाई शुक्रबार स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । बालबिवाह नियन्त्रणका लागि राक्सिराङ गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अस्मिता नेपालले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आव्हान गरिएको लकडाउनका बेला स्थानीयको लाभका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

‘बालबालिकाको इच्छा, बिवाह होइन शिक्षा’ भन्ने मुल नाराका साथ अस्मिता नेपालले बालबिवाह न्युनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । अस्मिता नेपालले स्वास्थ्य सामग्री हस्तान्तरणको अवसरमा गाउँपालिका, सामाजिक अगुवा र अभिभावकलाई बालबिवाह नहोस् भनी सचेत रहन आग्रह समेत गरेको छ । कोरोना भाइरस संक्रमणको कारण त्रास फैलिरहेको बेला बालबालिकाले विद्यालयमा शिक्षा लिन नपाइरहेको अवस्थाप्रति पनि अस्मिता नेपालले चिन्ता व्यक्त गरेको छ ।

बालबालिका र अभिभावकमा त्रास फैलिएको उल्लेख गर्नुहुँदै अस्मिता नेपालले महामारीबाट नआतिकन सुरक्षित रहन आग्रह गरेको छ । कोरोना भाइरससँग बच्ने उपाय र यो समयमा बालविवाहको उच्च जोखिममा रहेकोले त्यसै विषयमा तयार पारिएको पोस्टर, पम्प्लेट पनि वितरण गरिएको थियो ।