हेटौंडाः हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीमा कभर्ड हल निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारबाट प्राप्त बजेटबाट सुरु भएको कभर्ड हल असार १५ गतेसम्म निर्माण सम्पन्न हुने गरी काम भैरहेको उपभोक्ता समितिका अध्यक्ष गोकुल नाथ पौडेलले बताउनुभयो ।

लकडाउनको समयमा पनि निर्माण स्थलमा मजदुरबीच भौतिक दुरी कायम राखी निर्माण कार्य भइरहेको छ । निर्माण कार्यमा दैनिक १९ जना जनशक्ति परिचालन गरिएको छ । करिव ८ कठ्ठा क्षेत्रफलको संरक्षण गरी कभर्ड हलका साथै खुल्ला व्यायामस्थल तथा फुटसल कोर्ट समेत निर्माण हुने ७ नम्बर वडा अध्यक्ष राजन थापाले बताउनुभयो । कभर्ड हल निर्माणको लागि बागमती प्रदेशबाट ४८ लाख तथा स्थानीयको ४ लाख ७९ हजार रुपैयाँ लागत सहभागिता रहेको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।