हेटौँडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले आयोजना गरेको २९ औं खसी कप फुटबल प्रतियोगिताको उपाधि ढुङ्गेधारा फुटबल टिमले जितेको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा बिहिबार भएको फाइनल खेलमा बालुवाटार फुटबल टिम (ए) लाई पेनाल्टी सुटआउटमा २–१ गोलअन्तरले पराजित गर्दै गत बर्र्षको उपबिजेता ढुङ्गेधारा फुटबल टिमले यस बर्ष उपाधि जितेको हो ।
पहिलो हाफमा ढुङ्गेधारा फुटबल टिमको तर्फबाट अजय श्रेष्ठले १ गोल गरेका थिए । बालुवाटार फुटबल टिम (ए) को तर्फबाट खेलको अन्तिम समयमा रेजन गौतमले १ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । विजेता ढुङ्गेधारा फुटबल टिमले २२ केजीको खसीसहित सिल्ड, मेडल प्राप्त गरेको छ भने उपविजेता बालुवाटार फुटबल टिमले १८ केजीको खसीसहित सिल्ड, मेडल प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी ढुङ्गेधारा फुटबल टिमका गोलरक्षक समन सापकोटा भए भने प्रतियोगिताको हाई स्कोरर पिप्ले भेट्रान टिममा खेलाडी भुपेन्द्र चौलागाईं घोषित भए । चौलागाईले प्रतियोगितामा ५ गोल गरेका थिए । दुवैजना खेलाडीले पुरस्कर स्वरुप कुखुराको भाले प्राप्त गरे । प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, ५ नम्बर वडाध्यक्ष सुशील घिमिरेले पुरस्कार वितरण गरेका थिए । असोज २७ गतेबाट सुरु भएको प्रतियोगितामा ५ नम्बर वडाका ११ वटा टिमको सहभागिता रहेको थियो ।