हेटौंडाः प्रदेशको विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । प्रदेशको धादिङ, काभ्रेपलान्चोक र चितवनमा गरी ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–४ गुम्दिमा जिप अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–२ का १४ वर्षीय अनुरोध तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ११ बजेर ४० मिनेटको समयमा भित्रि सडक खण्डमा धादिङबेशीबाट गंगाजमुना जाँदै गरेको मे १ ज २६६९ नम्बरको जिप आफैं अनियन्त्रित भई पल्टिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य ५ जना सामान्य घाईते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–६, चामुण्डा पेट्रोल पम्पमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय नारायण तिमल्सिना रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार पाँचखालबाट धुलिखेल जाँदै गरेको बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा प्र ०२–०२४ प २५०१ नम्बरको स्कुटर ठोकिँदा मोटरसाइकल चालक तिमल्सिना लाई उछिटिंएर धुलिखेल जाँदै गरेको बा प्र ०१–००४ क २३२८ नम्बरको टिफर ठोकिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । स्कुटर चालक लिसङखु पाखर गाउँपालिका–४ का २१ वर्षीय पेम्बा छिरिङ लामा सामान्य घाईते भई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल, स्कुटर र टिफर नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, चितवन ईच्छाकामना गाउँपालिका–६, नौकिलोमा स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीया संगीता भण्डारी रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजेको समयमा मुग्लिङ–नारायणगढ सडक खण्डमा बा प्र ०२०४६ प १६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको घटनास्थलमा मृत्यु भएको थियो ।











