Home मुख्य समाचार हेटौँडाको बाल सुधारगृह, क्षमताभन्दा दोब्बर बालक हुँदा समस्या

हेटौँडाको बाल सुधारगृह, क्षमताभन्दा दोब्बर बालक हुँदा समस्या

हेटौँडाको बाल सुधारगृह

हेटौंडाः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत् मकवानपुरमा रहेको बाल सुधारगृहमा क्षमताभन्दा दोब्बरको संख्यामा बालक रहेका छन् । भवनको भौतिक संरचना अनुसार ३० देखि ३५ जनाको क्षमता भएको बाल सुधारगृहमा ७८ जना बालक रहेका छन् ।

हेटौँडा–११, थानाभ¥याङस्थित मकवानपुरको बाल सुधारगृहमा रहेका बालकमध्ये जबर्जस्ती करणी आभियोग लागेका ४० जना, कर्तव्य ज्यानका १ जना, लागूऔषधका ८ जना, चोरीका ३ जना, डाँका मुद्दाका २ जना छन् । यस्तै, सवारी ज्यान मुद्दाका २ जना, जबरजस्ती करणीसहित कर्तव्य ज्यानका १ जना, अप्राकृतिक मैथुनका २ जना, नकावजनी चोरी र आपराधिक उपद्रवका १ जना छन् । भक्तपुरबाट ल्याइएका १८ जनासमेत हाल ७८ जना बालक बाल सुधारगृहमा रहेका छन् ।

मकवानपुरमा रहेको बाल सुधारगृहको अवस्था कहालीलाग्दो छ । ४ वटा कोठामा ७८ जना बालक राखिएको छ । चर्पी २ वटामात्र रहेको छ । खेल मैदान छैन । शिक्षाको पहुँचबाट बालक वञ्चित हुनुपरेको छ । नेपालको संविधान २०७२ र बालबालिकासम्बन्धी ऐनबमोजिम बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुदका अधिकार भए तापनि मकवानपुरको बाल सुधारगृहमा रहेका बालकहरु शिक्षाबाट वञ्चित रहेका छन् । २०७५ असोज १४ गतेबाट माकवानपुरमा संघीय सरकारद्वारा सञ्चालनमा आएको बाल सुधारगृहमा आवश्यकताअनुसारको वातावरण छैन । सुधारगृहमा विभिन्न संस्था, व्यक्तिको सहयोगमा एउटा पुस्तकालय रहेको छ ।

सुधारगृहमा रहेका ४ जना बालकका लागि कक्षा ८ को परीक्षा दिने वातावरण मिलाउन हेटौंडा उपमहानगरपालिकासँग छलफल गरेको सुधार गृहका वार्डेन श्रवणकुमार पुडासैनी बताउनुहुन्छ । सरकारले १८ वर्षभन्दा कम उमेरलाई बालक भने तापनि सुधारगृहमा अहिले १८ वर्ष उमेरभन्दा माथिका ४ जना रहेका छन् । जसले गर्दा विभिन्न खालका घटना हुने गरेको उहाँको भनाइ छ ।

केही समयअघि भक्तपुर ठिमीस्थित बालगृहमा विवाद भएपछि त्यहाँका बालकहरुलाई विभिन्न बाल सुधारगृहमा स्थानान्तरण गरिएको थियो । भक्तपुरको उक्त बाल सुधारगृहबाट मकवानपुुरमा १८ जना बालकलाई ल्याइएको छ । वीरगञ्जमा रहेको सुधारगृहमा पनि झडप हुँदा १५ जना बालक घाइते भएका थिए भने नेपालगञ्जको बाल सुधारगृहमा भएको झडपमा १ जना बालकको मृत्यु नै भएको थियो । त्यहाँ ११ जना बालकहरु घाइते भएका थिए । मकवानपुरमा पनि सामान्य घटना भइरहने वार्डेन पुडासैनीले जानकारी दिनुभयो । गत जेठ महिनामा झडप हुँदा क्षति व्यहोर्नुपरेको उहाँ बताउनुहुन्छ ।

१८ वर्ष उमेर पूरा भएका र कैद नसकिएकालाई छुट्टै स्थानमा राख्नुपर्ने व्यवस्था भएपनि संरचना नहुँदा समस्या भएको सुधारगृहका कर्मचारीहरुको गुनासो छ । बाल सुधारगृहमा हुने घटनामा १८ वर्ष उमेर कटेकाहरुले समस्या निम्त्याएको कर्मचारीहरुको भनाइ छ । मकवानपुरको बाल सुधारगृहमा अहिले निजामतीका ५ जना र सुरक्षाकर्मी ९ जना रहेका छन् । सरकारले स्वास्थ्यको क्षेत्रमा पनि बाल सुधारगृहमा खासै लगानी गरेको छैन । सुधार गृहमा रहेका ४ जना दैनिक औषधी सेवन गर्ने बालक छन् । ‘सामान्य उपचारका लागि सरकारले व्यवस्था गरेको छ, केही ठूलो समस्या भएको अवस्थामा बालकको परिवार आफैंले खर्च बेहोर्नु पर्ने अवस्था रहेको छ’, वार्डेन पुडासैनीले भन्नुभयो ।

Exit mobile version