हेटौँडाः स्व. कृष्णप्रसाद दाहाल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा–८, कमानेस्थित चन्द्रोदय मावि र हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माविबीच भिडन्त हुने भएको छ । फाइनल खेल आज शनिबार दिउँसो हुनेछ ।
हेटौँडा–६ स्थित गौरिटार रंगशालामा शुक्रबार भएको सेमीफाइनल खेलमा हेटौँडा–१५ स्थित जनजागृति माविलाई पराजित गर्दै चन्द्रोदय मावि फाइनलमा प्रवेश गरेको हो भने हेटौँडा–१८ स्थित गोरक्षनाथ माविलाई पराजित गर्दै निर्मल मावि फाइनल प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा निर्मल माविले गोरक्षनाथ माविलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्मल माविका लागि खेलको १७ औं मिनेटमा मनिष गोलेले गोल गर्दै टिमलाई अग्रता दिलाए । निर्मल माविका लागि दोस्रो तथा निर्णायक गोल खेलको ३२ औं मिनेटमा युवराज मोक्तानले गरे । गोरक्षनाथका लागि नितेश सुनारले पेनाल्टी मार्फत एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । म्यान अफ द म्याच निर्मल माविका युवराज मोक्तान घोषित भए ।
यस्तै शुक्रबार नै भएको दोस्रो सेमीफाइनल खेलमा चन्द्रोदय माविले जनजागृति माविलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्यो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । म्यान अफ द म्याच आकृश गोङ्बा घोषित भए । प्रतियोगिताको उपाधी विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
