विद्यार्थीलाई वितरण गर्न विद्यालय परिसरमा राखिएका साइकल ।

हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविका १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा बालबालिकाको नियमित उपस्थितिका लागि साइकल वितरण गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले ६ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई साइकल वितरण गर्नुभयो ।

विद्यालयले बसको विकल्पमा साइकल वितरण गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री मोक्तानले विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको बताउनुभयो । बीचैमा विद्यालय छाड्ने समस्या, विद्यालय आउने–जाने समयमा भएको बचतले केही हदसम्म भएपनि विद्यार्थीलाई राहत हुने मन्त्री मोक्तानले अपेक्षा गर्नुभएको छ । उहाँले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना बढाउने र टिकाई राख्नका लागि प्रदेश सरकारले पनि सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनालले विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्नका लागि निरन्तर लागीपरेको भन्नुहुँदै साइकलले टाढाबाट आउने विद्यार्थीलाई राहत पुग्ने बताउनुभयो । वडा कार्यालयको सहयोगमा विद्यालयले विद्यार्थीका लागि साइकल खरिद गरेको प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिनुभएको छ । साइकलको सदुपयोग गर्न आग्रह गर्नुहुँदै प्रधानाध्यापक आचार्यले समय बचत हुने, सीप सिक्ने, शारीरिक स्वस्थ्यता कायम गर्ने, पैसा बचत गर्ने जस्ता फाइदा लिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

वडाको १० लाख रुपैयाँ बजेटबाट ११५ थान साइकल खरिद गरिएको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले विद्यालय आउ–जाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता भएका विद्यार्थीका लागि साइकलको प्रयोगले सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँ शिक्षा प्रमुख प्रदीप पराजुली, पूर्व वडाअध्यक्ष ध्रुब खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामहरि बिष्टलगायतले साइकलको सहुपयोग गरी विद्यार्थीको शिक्षा आर्जनमा सुधार गर्न आग्रह गरेका छन् । पशुपतिनाथ माविमा ५ सय ३९ जना विद्यार्थी अध्ययनरत छन् ।