Home खेलकुद विद्यालयस्तरीय फुटबलः सेमीफाइनल समीकरण पूरा

विद्यालयस्तरीय फुटबलः सेमीफाइनल समीकरण पूरा

हेटौँडा–६, गौरिटार रंगशालाको फुटबल मैदानसँगै निर्माणाधिन प्यारापिटमा बसेर विद्यालयस्तरीय फुटबल हेर्दै दर्शक ।

हेटौँडाः हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी स्व. कृष्णप्रसाद दहाल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । बिहिबार भएको क्वार्टरफाइनल चरणका खेलमा विजयी हुँदै निर्मल मावि, गोरक्षनाथ मावि, जनजागृति मावि र चन्द्रोदय मावि सेमीफाइनल चरणमा प्रवेश गरेको छ ।

निर्मल माविले हेटौँडा–१३ स्थित महेन्द्र माविलाई १–० गोलअन्तरले पराजित गरेको हो भने हेटौँडा–१८ स्थित गोरक्षनाथ माविले वंशगोपाल माविलाई १–० गोलअन्तरले नै पराजित गरेको छ । बिहिबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा जनजागृति माविले बालज्योति माविलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको छ । अन्तिम क्वार्टरफाइनल खेलमा बागमती गाउँपालिकाको सूर्य माविलाई २–० गोलअन्तरले पराजित गर्दै हेटौँडा–८ स्थित चन्द्रोदय मावि सेमीफाइनलमा प्रवेश गरेको छ ।

सेमीफाइनल चरणका खेलहरु शुक्रबार हुनेछ । सेमीफाइनल चरणमा निर्मल माविले गोरक्षनाथ माविको सामना गर्नेछ भने चन्द्रोदय माविले जनजागृति माविको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version