क्रिकेट प्रतियोििगताका लागि सामग्री हस्तान्तरण गर्नुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी ।

हेटौँडाः हेटौँडामा टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आयोजनामा भएको हो । बुधबारदेखि हेटौँडा–४, हुप्रचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षता तथा नगर उपप्रमुख राजेश बानियाँकोे प्रमुख आतिथ्यमा भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख बानियाँले दुबै पक्षको खेलाडीहरुलाई सफलताको शुभकामना दिनुहुँदै सबैलाई नियमपूर्वक खेल खेल्न आग्रह गर्नुभयो । प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल सामग्री मकवानपुर जिल्ला खेलकुद विकास समितिले दिएको छ । समितिका अध्यक्ष भेष खड्गीले मकवानपुर क्रिकेट संघका पदाधिकारीलाई खेल सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा कमाने क्रिकेट क्लबले नवजीवन ज्योति क्रिकेट क्लबलाई ७८ रनले पराजित गरेको छ । पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको कमाने क्रिकेट क्लबले निर्धारित २० ओभरमा १ सय ३४ रन जोड्यो । कमानेका लागि सागर मगरले २८ रनको योगदान गर्यो भने सन्देश ढकालले २५ रनको योगदान गरे । नवजीवन ज्योति क्लबका लागि भुषण तिवारीले ३ विकेट लिँदा रितेश अधिकारी र सुपेन्द्र तिवारीले समान २/२ विकेट लिए ।

१ सय ३५ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको जनजीवन ज्योति क्रिकेट क्लबले १४ ओभर ३ बलमा सबै विकेट गुमाएर ५६ रन मात्रै जोड्न सक्यो । नवजीवनका लागि रविन सिंहले १८ रन र नवीन पौैडेलले ११ रन बनाउने बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेन । प्लेयर अफ द म्याच कमानेका सुजन चौलागाई घोषित भए ।

यस्तै बुधबार नै भएको दोस्रो खेलमा मकवानपुर क्रिकेट क्लबले रेड सोइल क्रिकेट क्लबलाई १८ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ३ रन जोड्न सफल भयो । मकवानपुरका लागि सुमन सुनारले ४० र तक्षक सिम्खडाले ३० रनको योगदान गरे । जवाफी व्याटिङमा उत्रिएको रेड सोइलले निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाएर ८५ रन मात्रै बनाउन सफल भयो । रेड सोइलका लागि शुभ कंशाकारले ३७ र युविन भट्टराईले १७ रनको योगदान गरे । प्लेयर अफ द म्याच मकवानपुर क्रिकेट क्लबका सुमन सुनार घोषित भए ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा आज बिहिबार बिहान ९ बजे कमाने क्रिकेट क्लब र नारायणी कलेजको टिमबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे रेड सोइल क्रिकेट क्लब र ओमनगर क्रिकेट क्लबबीच खेल हुनेछ ।