नेपालीहरुको मुख्य चाडपर्व दशैं नजिकै आइसकेको छ । सबै मानिसहरु आपसमा रमाइलो गरेर चाडपर्व मनाउने हाम्रो परम्परा नै हो । अरु बेलामा दुःख, कष्ट, पीडा र विविध समस्यामा जीवन गुजारा गरे पनि चाडपर्वको समयमा रमाउने हामी नेपालीको विशेषता बनेको छ । चाडपर्वको रौनकलाई थप हर्षोल्लास बनाउन र आपसी भाइचाराको विकास गराउन विभिन्न खेलकुद प्रतियोगिता हुने गर्दछन् । दशैं, तिहारजस्ता मुख्य चाडको समयमा विभिन्न संघसंस्थाले फुटबललगायत विविध खेलका प्रतियोगिता सञ्चालन गर्ने गरेका छन् । यस वर्ष पनि मकवानपुर जिल्लाका विभिन्न पालिका र विशेषगरी हेटौंडा उपमहानगरपालिकामा दशैंको पूर्वसन्ध्यामा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएका छन् । केही प्रतियोगिता सम्पन्न भइसकेका छन्, केही प्रतियोगिता चलिरहेका छन् भने केही प्रतियोगिता सुरु हुने क्रममा छन् ।

आज बुधबारबाट हेटौंडामा उपमहानगरपालिका टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता छ । बुधबारबाटै २१ औं संस्करणको स्व. लक्ष्मीमाया बज्रचार्य भलिबल प्रतियोगिता सुरु भएको छ । जेसीआई बसामाडीको आयोजनामा सञ्चालित प्रतियोगितामा १३ टिम छन् । हेटौंडामा विद्यालयस्तरीय फुटबल प्रतियोगिता पनि सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका २९ विद्यालयको टिम सहभागी छन् । जेसीआई चैनपुर (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ । १६ टिमको सहभागिता रहेको प्रतियोगिता कार्तिक १ गते समापन हुनेछ । हेटौंडामा मंगलबार सेपाक ताक्रो प्रतियोगिता सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजना तथा नेपाल सेपाक ताक्रो संघको सहकार्यमा भएको प्रतियोगितामा देशका ७ प्रदेशको टिम सहभागी थियो । गत शनिबार १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका २१ वटा डोजाङबाट ३ सय खेलाडी सहभागी थिए ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ्ग संघको समन्वयमा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता आगामी शनिबार हुँदैछ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा पहिलो पटक क्रिकसल प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । आगामी सोबारबाट छैटौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । हेटौंडा–८, कमानेमा शनिबारबाट दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–७ मा मंगलबारबाट टोलस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । गत शनिबारमात्रै दोस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको दोस्रो संस्करणको बास्केटबल प्रतियोगिता पनि आइतबार सम्पन्न भएको छ । एक साताअघि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौंडा उपमहानगर समितिले बुद्धिचाल (चेस) प्रतियोगिता गरेको छ । हेटौंडा फुटसल स्पोर्टस् सेन्टरको आयोजनामा गत हप्ता फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाउँपालिकामा गत असोज १२ गते र १३ गते १७ औं राष्ट्रव्यापी बुदोकै–दो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता भएको छ । त्यसको केही दिनअघि बकैयामै खुला नकआउट फुटबल प्रतियोगिता भएको थियो ।

दशैं, तिहारजस्ता चाडपर्वलक्षित खेल प्रतियोगिताहरु गाउँ–शहरमा मात्र नभई टोलटोलमा हुने गरेका छन् । यस्ता प्रतियोगिताले खेलाडीलाई खेलप्रति आकर्षित बनाउन, खेल कौशल बढाउन सहयोगी हुनेछ । खेलकुद देशको सामाजिक तथा आर्थिक विकासको एउटा महत्वपूर्ण माध्यम हो । खेलकुदले व्यक्तिको शारीरिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । खेलकुदको माध्यमबाट अनुशासन कायम गर्न, व्यक्तित्व तथा नेतृत्व विकास गर्न र सामाजिक सद्भावसमेत कायम गर्न मद्दत पुग्छ । युवाहरु खेलमा आवद्ध हुँदा कुलतमा लाग्ने सम्भावना पनि कम हुन्छ । यी सबै कारणले खेल प्रतियोगिताहरु सबै समयमा उत्तिकै हुनुपर्ने भए पनि त्यसो हुन सकेको छैन । चाडपर्वकै नाममा भए पनि दशैंअघि खेल प्रतियोगिताहरुले व्यापकता पाउँदै जानुलाई सकारात्मक मान्नुपर्छ । यस्ता खेल प्रतियोगिताले खेल पूर्वाधारको विकास र खेलाडीको क्षमता विकासमा सहयोग पुग्ने आशा गर्न सकिन्छ ।