पत्रकार सम्मेलनमा क्रिकसलबारे जानकारी दिनुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा पहिलो पटक क्रिकसल प्रतियोगिता हुने भएको छ । सोमबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै वडादशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यही असोज २८ र २९ गते क्रिकसल प्रतियोगिता हुने जानकारी गराइएको हो ।

क्रिकेट खेल सम्भावनाको रुपमा रहेकाले खेललाई प्रोत्साहन गर्न र चाडवाडको समयमा युवालाई सम्भावित लागूपदार्थ दुव्र्यसनीबाट टाढा राख्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा २५ वटा समूहको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताका लागि १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमका लागि दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताका विजेतालाई नगद २५ हजार र उपविजेतालाई नगद १५ हजार पुरस्कार र शिल्ड, मेडल एवम् प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताको लागि अन्य स्रोतका साथै वडा कार्यालयले ६७ हजार रुपियाँ प्रदान गर्नेछ । खेल हेटौंडा–४, कमलडाँडास्थित फुटसल कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा वडाध्यक्ष नवीन सिग्देलले सकारात्मक रुपान्तरणमा वडा कार्यालय लाग्ने बताउँदै वडाले खेललाई प्राथमिकतामा राखेको बताउनुभयो ।