हेटौंडाः हेटौंडामा सेपाक ताक्रो च्याम्पियनसिप सुरु भएको छ । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजना तथा नेपाल सेपाक ताक्रो संघको सहकार्यमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद महासंघ समाजवादीका अध्यक्ष केशवकुमार विष्टको सभाध्यक्षातामा भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष विष्टले सबै खेलाडीहरुलाई इमान्दारीपूर्वक खेल्न आग्रह गर्नुहुँदै सबै खेलाडीहरुले झै–झगडा नगरी अनुशासित भएर खेल खेल्नुपर्ने बताउनुभयो ।

हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो खेलमा पुरुषतर्फ बागमती प्रदेश सेपाक ताक्रो विजयी भएको छ । बागमती प्रदेशले गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरेको हो । दोस्रो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ । यस्तै, तेस्रो खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरेको छ । चौथो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलेलाई २–० को सोझो सेटमा पराजित गरेको छ । बागमती प्रदेशले लुम्बिनीलाई २–१ सेटले पराजित गरेको छ ।

महिलातर्फ भएको पहिलो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २–० को सोझो सेटले हराएको छ । दोस्रो खेलमा बागमती प्रदेशले कोशीलाई २–० कै सोझो सेटले हराएको छ । प्रतियोगितामा महिलातर्फ ३ वटा टिम र पुरुषतर्फ ४ वटा टिम गरी जम्मा ७ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको अन्तिम खेलहरु आज मंगलबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिम र उपविजेता टिमहरुले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।