सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको टिम ।

हेटौंडाः हेटौंडामा जारी विद्यालयस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार ४ वटा खेलहरु सम्पन्न भएका छन् । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सोमबार भएको पहिलो खेलमा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले श्रमिक माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको छ । दोस्रो खेलमा जनजागृति माध्यमिक विद्यालयले बालबोध माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

तेस्रो खेलमा बागमती गाउँपालिकाको सूर्य माविले मकवानपुरगढी गाउँपालिकाको चण्डिका माविलाई २–० गोलअन्तरले पराजित गरेको छ । चौथो खेलमा चन्द्रोदय माविले सिद्धार्थ माध्यमिक विद्यालयलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।